दाङ – नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले एक सय दिने अभियानको समिक्षा गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिती दाङले सय दिने अभियानका लागि खटाईएका जिल्ला प्रतिनिधिसंग छलफल सहितको समिक्षा गरेको हो ।
समीक्षा कार्यक्रममा अभियानका उपलब्धिहरू, चुनौतिहरू, र आगामी रणनीतिबारे व्यापक छलफल गरिएको थियो । नेपाली कांग्रेसले यस अभियान अन्तर्गत पार्टी सुदृढीकरण, जनसम्पर्क अभिवृद्धि, संगठन विस्तार, तथा स्थानीय तहमा विकास निर्माणका कामहरूमा सक्रिय भूमिका खेल्ने उद्देश्य राखेको थियो।
कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले अभियान अवधिमा भएका गतिविधिहरूको समीक्षा गर्दै सुधारका पक्षमा आफ्ना सुझावहरू प्रस्तुत गरेका थिए ।
जिल्लाबाट वडा प्रतिनिधिका रुपमा खटाईएका प्रतिनिधिबाट पार्टीको तल्लो तहमा कांग्रेस कम्जोर रहेको प्रतिक्रिया दिएका छन । कुनैपनी वडामा धेरै जसो पार्टीका क्रियाशिल सदस्यले सदस्यता नविकरण गराउन मानेका छैनन ।
कतै वडा सभापतिहरुको सक्रियता नभएको, कतै कार्यकर्तामा उत्साह नभएको, क्रियाशिल सदस्यता नविकरण गर्नेमा चासो नराखेका जस्ता प्रतिवेदन क्षेत्र र जिल्ला कार्यसमितिलाई बुझाएका छन ।
नेपाली कांग्रेस दाङले जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुलाई तल्लो तहमा कांग्रेसको अवस्था के कस्तो छ, सदस्यता नविकरण, क्रियाशिल सदस्यताको अवस्था के छ, पार्टी प्रति आम कार्यकर्ताहरुमा कस्तो धारणा र उत्साह छ भन्ने विषयमा बुझ्न खटाएको थियो ।
जिल्ला प्रतिनिधिका रुपमा खटाईएका वडा प्रतिनिधिले वडा सभापति, जनप्रतिनिधि र त्यस क्षेत्रमा जिम्मेवारी पाएका नेतृत्व तहले पार्टी प्रति देखाएको अव्यवहारिक गतिविधिलाई आधार बनाएर कारबाही गर्नु पर्ने क्षेत्र र जिल्ला कार्यसमितिलाई सुझाव दिएका छन ।
नेपाली कांग्रेस दाङका सचिव अर्जुन कुमार योगीले पार्टीको संगठन सुदृढीकरण, एकताका लागि आवश्यक पहल, तथा आगामी योजनाहरूबारे महत्वपूर्ण धारणा व्यक्त गर्नुभयो ।
उहाँले एक सय दिने अभियानको सफलतामा पार्टीका सबै कार्यकर्ताको मेहनत महत्वपूर्ण रहेको उल्लेख गर्दै भन्नुभयो, “यस अभियानमार्फत हामीले संगठन सशक्तीकरण, जनसंपर्क अभिवृद्धि, र स्थानीय तहमा पार्टीको उपस्थिति मजबुत बनाउन सफल भएका छौँ। यो अभियानले कांग्रेसलाई अझ गतिशील बनाउने काम गरेको छ।”
त्यसैगरी, उहाँले पार्टीभित्र देखिएका केही चुनौतीहरूको समाधानका लागि समन्वयात्मक पहल आवश्यक रहेको बताउँदै थप्नुभयो, “संगठनलाई बलियो बनाउन कार्यकर्ताबीचको एकता, अनुशासन, र निरन्तर क्रियाशीलता अत्यन्त जरुरी छ। आगामी दिनमा हामी अझ प्रभावकारी रूपमा जनतासँग नजिक रहनेछौँ।”
नेपाली कांग्रेस दाङ-१ का सभापति भेषराज पाण्डेले अभियान सफल भएको बताउँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनु भएको छ । साथै, उहाँले पार्टीलाई बलियो बनाउन निरन्तर जनसम्पर्क र संगठन निर्माण आवश्यक रहेकोमा जोड दिनु भयो ।आजै लमहीमा बसेको बैठकले प्रदेश क का सभापति श्रीपद चौधरीलाई प्रशिक्षण विभागको प्रशिक्षण प्रमुखमा जिम्मेवारी दिइएको छ ।
नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर -१ का क्षेत्रीय सभापति भेषराज पाण्डेको अध्यक्षता तथा नेपाली कांग्रेस दाङका सचिव अर्जुन कुमार योगीको उपस्थितिमा भएको कार्यक्रमको संचालन सचिव हरिहर शर्माले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्