दाङ – अपांग भएका व्यक्तिहरूको हकहित तथा समावेशी अधिकार प्रवर्द्धन गर्न सक्रिय राष्ट्रिय लोकतान्त्रिक अपांग संघ हालै देशभर विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ। संघले अपांगता भएका नागरिकहरूको सशक्तीकरण, अवसर विस्तार, तथा सरकारी नीति निर्माणमा प्रभाव पार्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेको छ।
यसैबीच आइतबार राष्ट्रिय लोकतान्त्रिक अपांग संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशन दाङको लमहीमा सम्पन्न भएको छ । अधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले अपांगता भएका व्यक्तिहरुलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्व भएको भन्दै अपांगता भएका व्यक्तिहरूलाई सहयोग गर्न पाउनु पुण्यको काम भएको बताउनु भयो । साथै उहाँले अपांगता भएका व्यक्तिहरूको स्वास्थ्य सेवा पहुँचमा सुधार ल्याउनुका साथै उनीहरूको जीवनस्तर उकास्न राज्यले ध्यान दिनु पर्ने बताउनु भयो ।
प्रदेश अध्यक्षमा कालाथोकी चयन
राष्ट्रिय लोकतान्त्रिक अपांग संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनले पूर्ण प्रसाद कालाथोकीलाई सर्व सम्मत रुपमा प्रदेश अध्यक्ष बनाएको छ । कालाथोकी नेपाली कांग्रेसको तर्फबाट प्युठानको माण्डवी गाउँपालिकाको निर्वाचित उपाध्यक्ष समेत हुनु हुन्छ । त्यसैगरी उपाध्यक्षमा बालकृष्ण सुवेदी, महामन्त्रीमा खुमाकान्त तिवारी चयन हुनु भएको छ । त्यस्तै खुल्ला सदस्यमा नरेश बुढा, सुरेश विक, बसन्ती वली, राष्मा अधिकारी, केदार शर्मा र नर बहादुर पुन चयन हुनु भएको छ ।
त्यसैगरी प्रथम अधिवेशनले राम रतन थारु, निम बहादुर बस्नेत, शिव बहादुर बुढा मगर, तारा बहादुर रावत, मिना खनाल, तेजराम उपाध्याय र नयाराम खड्कालाई सदस्यमा चयन गरेको छ । यो संगै नयाँ कार्यसमितिको कार्यावधि तीन वर्ष हुने छ ।
लुम्बिनी प्रदेशका सांसद तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री निमा गिरी, प्रदेश सांसद माया पुन, नेपाली कांग्रेस बाँकेका सभापति नारायण गौडेल, नेपाली कांग्रेस दाङका उपसभापति कमान सिंह भारती, जिल्ला सचिव बालिका लम्साल, महिला संघ जिल्ला अध्यक्ष गोमा रावत, लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगी, नेपाल दलित संघ जिल्ला कार्यसमिति दाङका सभापति बाबुराम विश्वकर्मा, केन्द्रबाट खटिएका केन्द्रीय सदस्य मोहन विक्रम श्रेष्ठ, माधव चौलागाई, प्रवल विष्ट, केन्द्रीय सचिव गणेश बहादुर केसी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
राष्ट्रिय लोकतान्त्रिक अपांग संघ दाङका अध्यक्ष गिरिराज वलीले स्वागत मन्तव्य राख्नु भएको थियो भने राष्ट्रिय लोकतान्त्रिक अपांग संघका केन्द्रीय सदस्य देवा डाँगीले कार्यक्रमको संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्