सीपमूलक तालिमले महिलालाई उद्यमशील बनाउँछ – प्रमुख चौधरी

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १२ जेष्ठ २०८२, आईतवार
2 Min Read
Aa

दाङ – लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले सीपमूलक तालिमले महिलाहरूमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै उनीहरूलाई उद्यमशील बनाउने विश्वास व्यक्त गरेका छन् । लमही नगरपालिका वडा नम्बर १ द्वारा आयोजित कटाई-सिलाई तथा गिफ्ट बनाउने तालिमको आइतबार उद्घाटन गर्दै प्रमुख चौधरीले सीप सिकाइले महिलालाई आत्मनिर्भर बनाउने र उद्यम गर्न प्रेरित गर्ने बताए ।

“सीपले महिलालाई मात्र होइन, परिवार र समाजलाई पनि रुपान्तरण गर्न सहयोग गर्छ,” उनले भने, “म विश्वस्त छु कि यो तालिमले महिलाहरूलाई उद्यमी बन्ने दिशामा ठोस पाइला चाल्न मद्दत गर्नेछ।”

तालिम उद्घाटन समारोहमा वडा अध्यक्ष दामोदर पौडेलले यो कार्यक्रम गृहिणी महिलालाई स्वरोजगार र उद्यमीतर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे । उनले तालिमपछि महिलाहरूले लुगा सिलाउने, सजावट सामग्री बनाउने र गिफ्ट आइटम उत्पादन गरी बजारमा बिक्री गर्न सक्ने क्षमता प्राप्त गर्ने उल्लेख गरे ।

“महिला सशक्तिकरणप्रति स्थानीय सरकारको प्रतिबद्धता यस कार्यक्रमले प्रतिविम्बित गर्छ,” वडा अध्यक्ष पौडेलले भने, “दीर्घकालीन रूपमा यो तालिम महिलाको आर्थिक र सामाजिक उन्नयनमा सहायक हुनेछ ।”

सोही अवसरमा पत्रकार प्रिया स्मृती गजमेरले राज्यले दिएको यो अवसरलाई महिलाहरूले सदुपयोग गर्नुपर्ने सुझाव दिदै महिलाहरू केवल चुलोचौका सीमित नभई सबै प्रकारका सीप र काममा नेतृत्व लिनसक्ने सन्देश दिए । “दिनभर फुर्सदिलो समय बिताउनु भन्दा केही उपयोगी सीप सिकेर आर्थिक रूपमा सक्रिय बन्न आवश्यक छ,” उनले भने ।

आर्थिक वर्ष २०८१/८२ को वडागत बजेट अन्तर्गत सञ्चालन गरिएको तालिममा वडा नम्बर १ का ६८ जना महिलाहरूले सहभागिता जनाएका छन् । तीमध्ये ३४ जनाले ३० दिने कटाई-सिलाई तालिम र बाँकी ३४ जनाले १५ दिने गिफ्ट बनाउने तालिम लिनेछन् । तालिममा सहभागी महिलाहरूलाई सिलाई-कटाईका आधारभूत सीप, कपडाबाट गिफ्ट बनाउने तरिका र विविध रचनात्मक कला सिकाइनेछ । तालिमबाट महिलाहरूले भविष्यमा घरेलु उद्यम सञ्चालन गर्दै आत्मनिर्भर बन्न सक्ने अपेक्षा गरिएको छ ।

कार्यक्रम लमही नगरपालिका- १ का वडा अध्यक्ष दामोदर पौडेलको अध्यक्षता तथा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य किरण चौधरीले स्वागत मन्तव्य राखेकी थिइन् भने वडा सचिव विन्तिराम चौधरीले सञ्चालन गरेका थिए । तालिमको प्रशिक्षकमा रुपा रोका रहेकी छन् ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्