जग्गासहितको लालपुर्जा हातमा दिलाउने मेरो धोको हो- नगर प्रमुख चौधरी

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १९ जेष्ठ २०८२, आईतवार
4 Min Read
Aa

दाङ – भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी समुदायलाई जग्गा उपलब्ध गराउने उद्देश्यले लमही नगरपालिका वडा नं. १ अन्तर्गत पर्ने कौडिया स्थित कुमाल टोलमा जग्गा नापजाँच कार्य औपचारिक रूपमा सुरु गरिएको छ । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी र वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेलले संयुक्त रुपमा नापजाँच कार्यको शुभारम्भ गरेका हुन् ।

लमही नगरपालिका–१ को कौडिया स्थित कुमाल टोलमा भूमिहीन दलित तथा सुकुम्बासीहरूलाई जग्गा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको नापजाँच कार्यको उद्घाटन गर्दै नगरप्रमुख जोगराज चौधरीले “छिटोभन्दा छिटो जग्गासहितको लालपुर्जा हातमा दिलाउने मेरो धोको हो,” भन्ने प्रतिबद्धता जनाएका छन्।

नगरप्रमुख चौधरीले नापजाँच कार्यक्रम शुभारम्भ गर्दै वर्तमान स्थानीय सरकार भूमिहीन, दलित तथा सुकुम्बासी समुदायप्रति समर्पित रहेको उल्लेख गरे। उनले भने, “राज्यले सबै नागरिकलाई बाँच्नका लागि आधारभूत अधिकारस्वरूप बसोबासको सुनिश्चितता दिनुपर्छ। हामी यही अधिकारलाई व्यवहारमा रूपान्तरण गर्न लागिपरेका छौं।”

कार्यक्रममा उनले सबै सरोकारवालासँग नापजाँच कार्यलाई निष्पक्ष, पारदर्शी र विवादरहित बनाउन आग्रह गर्दै भने, “सामुदायिक सहकार्य र आपसी समझदारीले मात्र यो प्रक्रिया सफल हुन्छ। यदि हामी विवादमा अल्झियौं भने प्रक्रिया लम्बिन्छ, त्यसैले साझा हितलाई प्राथमिकता दिन आवश्यक छ।”

कार्यक्रमको सुरुवात अवसरमा लमही नगरपालिका–१ का वडाध्यक्ष दामोदर पौडेलले भने, “भूमिहीन र सुकुम्बासी नागरिकहरूलाई जग्गा स्वामित्व दिलाउन हामी गम्भीर छौं। यो कार्यले उनीहरूको जीवनस्तर उकास्न र सामाजिक न्याय सुनिश्चित गर्न मद्दत पुग्नेछ।”

यस अभियानले लामो समयदेखि बसोबास गर्दै आएका तर कानूनी रुपमा जमीनको स्वामित्व नपाएका परिवारहरूलाई जग्गाधनी प्रमाण–पुर्जा वितरणको प्रक्रिया अगाडि बढाउने लक्ष्य राखेको छ ।

नापजाँच कार्य स्थानीय सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भूमि आयोगको समन्वयमा अघि बढाइएको हो । जग्गा नापी टोलीले स्थलगत रूपमा प्रत्येक परिवारको बसोबास क्षेत्र निर्धारण गर्दै नक्सांकन कार्य गर्ने छ।

स्थानीयवासीहरूले नापजाँच सुरु भएकोमा खुशी व्यक्त गर्दै राज्यबाट अधिकार प्राप्त गर्ने आशामा उत्साहित भएका छन् । “हामी पुस्तौंदेखि यहीं बस्दै आएका छौं, अब भने कानुनी कागजात पाइने आशा पलाएको छ,” कुमाल टोलका स्थानीय काली प्रसाद कुमालले भने ।

नापजाँच कार्य सम्पन्न भएपछि, जग्गाको स्वामित्व सम्बन्धी आवश्यक प्रक्रिया पूरा गरी योग्य परिवारहरूलाई लालपुर्जा वितरण गरिने जनाइएको छ। यस कार्यले भूमिहीन समुदायलाई स्थायी बसोबासको सुनिश्चितता दिलाउनुका साथै उनीहरूको आर्थिक, सामाजिक सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।

भूमिहीन समस्या समाधानका लागि सरकारले गठन गरेको भूमि आयोग मार्फत देशभर नै यस्ता नापजाँच कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। लमही नगरपालिका पनि सोही अभियान अन्तर्गत अगाडि बढेको हो।

नापी टोलीले कुमाल टोलमा स्थलगत मापनको कार्य प्रारम्भ गरिसकेको छ । नापजाँच सम्पन्न भएपछि प्रक्रिया अनुसार योग्य लाभग्राहीहरूलाई कानुनी रूपमा लालपुर्जा वितरण गरिनेछ ।

कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले नगरप्रमुखको सक्रियता र स्पष्ट प्रतिबद्धतालाई सकारात्मक रूपमा लिँदै राज्यबाट अधिकार प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् । उनीहरूले प्रक्रिया छिटो टुंगो लागोस् भन्ने चाहना पनि राखेका छन् ।

यस अभियानले विशेषगरी भूमिहीन दलित तथा विपन्न वर्गका नागरिकहरूको जीवनमा स्थायित्व, सम्मान र आत्मनिर्भरता ल्याउने अपेक्षा गरिएको छ । लमही नगरपालिकाले पनि देशभर सञ्चालन भइरहेको भूमिहीन समस्या समाधानका लागि सरकारद्वारा सञ्चालित विशेष कार्यक्रम अन्तर्गत नापजाँच कार्य अघि बढाएको हो ।

त्यसैगरी वडा नम्बर १ को काम सकिएपछि टोलीले वडा नम्बर २ को नापजाँच कामलाई अगाढी बढाउने लमही नगरपालिका भूमि शाखा प्रमुख प्रकाश भण्डारीले जानकारी दिए ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्