दाङ – लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले सफा र हरित लमही निर्माण सबैको साझा उद्देश्य भएको बताए । नगरपालिकाले नगर क्षेत्रभित्रको वातावरणीय सरसफाइ र दिगो विकासलाई ध्यानमा राख्दै नगरका विभिन्न टोल विकास संस्थाका पदाधिकारीहरूलाई घरायसी फोहोर व्यवस्थापन सम्बन्धी आयोजना गरेको तालिममा बोल्दै प्रमुख चौधरीले यस्तो बताएका हुन ।
घरायसी फोहोर व्यवस्थापनको सीप हरेक घरमा पुग्न सकेमा नगर स्वच्छ मात्र होइन, उर्वर पनि बन्नेछ।” लमहीलाई व्यवस्थित, स्वच्छ, हरियालीयुक्त र दिगो नगर बनाउने अभियानमा नगरवासीको सक्रिय सहयोग आवश्यक रहेको नगर प्रमुख चौधरीको भनाई छ । जनसहभागिता बिना दिगो विकास सम्भव नरहेको बताउँदै सबै नागरिकलाई सक्रिय सहभागिता जनाउन नगर प्रमुख चौधरेले सबैमा आह्वान गरेका छन ।
त्यस्तै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले वातावरणीय समस्याको समाधान जनस्तरबाटै सुरु हुनुपर्नेमा जोड दिँदै लमही नगरलाई ‘हरित र स्वच्छ नगर’को रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरिन। “हामीकहाँ वातावरणीय चुनौतीहरू दिनप्रतिदिन बढ्दै गएका छन्। यसको समाधान सरकार मात्रले गर्न सक्दैन। यसको सुरुवात समुदाय र नागरिकबाटै हुनुपर्छ,” उनले भनिन्।
उनले लमही नगरलाई हरित, स्वच्छ, सुरक्षित र वातावरणमैत्री बनाउने उद्देश्यले विभिन्न अभियान सञ्चालन भइरहेको जानकारी दिँदै थप प्रयासहरू भइरहेको बताइन । नगरपालिकाले प्लास्टिक प्रयोग न्यूनीकरण, फोहोर वर्गीकरण, घर-घरमै कम्पोस्ट तयार गर्ने तालिम, वृक्षारोपण कार्यक्रम र सफाइ अभियानलाई प्राथमिकता दिनु पर्ने उपप्रमुख योगीको भनाई छ ।
एकदिने तालिममा बजार क्षेत्रका १६ वटा टोल विकास संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले सिकेको ज्ञान आफ्नो टोलमा विस्तार गरी स्थानीय स्तरमै फोहोरलाई उपयोगी बनाउने प्रतिबद्धता जनाएका छन । तालिममा घरमा निस्कने जैविक फोहोरलाई व्यवस्थितरूपमा संकलन गरी त्यसलाई कम्पोस्ट मलमा रूपान्तरण गर्ने सीप र प्रविधि सिकाइएको वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख गायत्री थापाले जानकारी दिईन । टोल विकास संस्थालाई डस्टविन पनि वितरण गरिएको छ । कम्पोष्ट मल कसरी बनाउने र बजारीकरण गर्ने भनेर टोल विकास संस्थाका पदाधिकारीलाई लमही नगरपालिका -९ रिहारमा रहेको गौशालामा अवलोकन समेत गराईएको छ ।
प्रशिक्षक निलम त्रिपाठीले सहभागीलाइ जैविक फोहोर छुट्याउने तरिका, कम्पोस्टिङ प्रक्रिया, समय व्यवस्थापन तथा त्यसबाट प्राप्त मलको उपयोगबारे व्यावहारिक ज्ञान प्रदान गरेकी थिईन । यस पहलबाट फोहोर व्यवस्थापनमा सुधार आउनुका साथै रासायनिक मलको विकल्पस्वरूप जैविक मल उत्पादन बढ्ने अपेक्षा नगरपालिकाले गरेको छ । नगरपालिकाले आगामी दिनमा अन्य समुदायमा समेत यस्ता तालिमहरू सञ्चालन गर्दै जाने जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्