दाङ – लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले बालबालिकाको भविष्य निर्माणमा शिक्षकहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुने बताएका छन । एक कार्यक्रमको अवसरमा बोल्दै उनले बालबालिकालाई ‘काँचो माटो’ सरह उल्लेख गर्दै भने, “बालबालिका काँचो माटो जस्तै हुन्। यस्तै समयमा हो, यी बालबालिकालाई आकार दिने कि बेकार गराउने भन्ने सबै कुरा शिक्षकको हातमा हुन्छ ।”
लमही नगरपालिका-६ स्थित रहेको आदर्श नमूना माध्यामिक विद्यालय देउपुरमा बुधबारदेखि आइतबारसम्म सञ्चालन भएको उत्प्रेरणात्मक तालिमको समापन गर्दै नगर प्रमुख चौधरीले यस्तो धारणा राखेका हुन ।
नगर प्रमुख चौधरीले शिक्षा क्षेत्रको प्रभावकारिता बढाउन शिक्षकहरूमा कर्तव्यनिष्ठा, अनुशासन र मार्गदर्शन क्षमताको खाँचो रहेको पनि औँल्याए। उनले सबै शिक्षकलाई शिक्षण पेशालाई केवल जागिरको रूपमा नभइ राष्ट्र निर्माणको आधार मान्न आग्रह गरे ।
उनले थपे, “विद्यालय भनेको केवल पाठ्यपुस्तक पढाउने ठाउँ मात्र होइन, यो त चरित्र, सीप र संस्कार निर्माण गर्ने थलो हो । त्यसैले शिक्षकहरूले आफ्नो भूमिका सजगताका साथ निर्वाह गर्नुपर्छ ।” लमही नगरपालिकाले शिक्षा क्षेत्रमा सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको र आगामी दिनमा अझ प्रभावकारी योजना ल्याइने जानकारी पनि नगरप्रमुख चौधरीले दिएका छन ।
त्यस्तै लमही नगरपालिका-६ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक श्याम नारायण चौधरीले शिक्षकमा जिम्मेवारीबोध र प्रेरणा भयो भने बालबालिकाको आत्मविश्वास र रचनात्मकता द्रुत गतिमा वृद्धि हुने बताए । वडा अध्यक्ष चौधरीले बालमैत्री शिक्षा प्रणाली निर्माण गर्न नगरपालिकाले आवश्यक सहयोग गर्न तयार रहेको उल्लेख गरे । उनले शिक्षा क्षेत्रलाई नगरपालिकाको प्राथमिकतामा राखिएको र भावी पुस्ताको विकासका लागि योजनाबद्ध रूपमा कार्यक्रम अगाडि बढाइने जानकारी पनि दिए ।
सो क्रममा आदर्श माध्यामिक विद्यालय देउपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान प्रसाद चौधरी, प्राचार्य कुलचन्द्र पौडेल लगायतले शुभकामना दिएका थिए । वडा नम्बर ६ का वडा अध्यक्ष श्याम नारायण चौधरीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएको हो । लमही नगरपालिका-६ भित्र रहेका सामुदायिक विद्यालयका १६ जना शिक्षकले उक्त तालिममा भाग लिएका थिए । एक्टिभिटी बेस इन्स्ट्रक्सन नेपाल नामक संस्थाले प्राविधिक सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्