दाङ – लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले आत्मनिर्भर जीवन यापनका लागि आर्थिक मितव्ययिता र व्यवस्थापन अनिवार्य रहेको बताएकी छन् । लमही नगरपालिका–३ स्थित ऐतिहासिक तथा पर्यटकीय स्थल जखेरातालमा आयोजित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत सञ्चालित २१ हप्ते वित्तीय साक्षरता तथा परामर्श कक्षाको समापन समारोहमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै उपप्रमुख योगीले यस्तो धारणा व्यक्त गरेकी हुन् ।
समापन समारोहमा बोल्दै उपप्रमुख योगीले विदेश वा स्वदेशमा भएको आम्दानीलाई जथाभावी खर्च नगरी योजनाबद्ध ढंगले उपयोग गर्नुपर्नेमा जोड दिइन् । “आजको युगमा आत्मनिर्भर बन्ने पहिलो शर्त भनेको आर्थिक ज्ञान हो,” उपप्रमुख योगीले भनिन्, “आफ्नो आम्दानीलाई व्यवस्थापन गर्न सक्नेले मात्र सुरक्षित र समृद्ध भविष्य निर्माण गर्न सक्छन् ।”
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले पारिवारिक संरचनाको मर्यादित व्यवस्थापनमा गृहिणीको भूमिका विशेष महत्त्वपूर्ण हुने बताएका थिए । उनले घरको आर्थिक, सामाजिक र नैतिक पक्षलाई सन्तुलित रूपमा अघि बढाउन गृहिणीहरुले नेतृत्व लिनुपर्ने बताए । “परिवारभित्र अनुशासन, सदाचार र मूल्य–मान्यता कायम राख्न गृहिणीको भुमिका अमूल्य हुन्छ,” देवकोटाले भने । साथै, उनले वैदेशिक रोजगारबाट प्राप्त आम्दानीलाई दीर्घकालीन सोचका साथ योजनाबद्ध रूपमा प्रयोग गर्न सुझाव दिए । “सीप विकास, लघु व्यवसाय र उद्यमशीलता जस्ता क्षेत्रमा लगानी गरेमा आत्मनिर्भरता सम्भव हुन्छ,” उनले भने ।
सोही कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरीले पनि वैदेशिक आम्दानीको सदुपयोगमा जोड दिए । उनले प्रवासी नेपालीको पसिनाको कमाइलाई फजुल खर्च नगरी, शिक्षा, स्वास्थ्य, बचत र लगानी जस्ता क्षेत्रमा प्रयोग गर्नुपर्ने बताए । “यदि हामी विदेशबाट आएको पैसालाई सही रूपमा प्रयोग गर्न सक्यौं भने परिवार मात्रै होइन, सिंगो समाजको रुपान्तरण सम्भव छ,” अध्यक्ष चौधरीले भने ।
कार्यक्रम वडा अध्यक्ष मनोज कुमार चौधरीको अध्यक्षता, उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा सामी परियोजना दाङकी संयोजक बसन्ता पुनले स्वागत मन्तव्य राख्दै सामी परियोजनाले सञ्चालन गरेका गतिविधिहरूको जानकारी दिएकी थिइन् ।
कार्यक्रमको सहजीकरण लमही नगरपालिकाका प्रशासकीय अधिकृत तथा सामी परियोजनाका फोकल पर्सन महेश थापाले गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाह, वडा नम्बर ५ का वडा सदस्य चन्द्रा चौधरी, वडा नम्बर ३ का वडा सदस्य सुमन कुमार अधिकारी, जखेरा टोल विकास समितिका अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्