दाङ – लमही नगरपालिका–६ स्थित आदर्श नमूना माध्यमिक विद्यालय देउपुरका शिक्षक यादव प्रसाद चौधरीलाई शुक्रबार एक विशेष कार्यक्रमका बीच विदाइ गरिएको छ । विद्यालयले आयोजना गरेको कार्यक्रममा विद्यालय परिवार, पूर्वविद्यार्थी, अभिभावक तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
चौधरीले २०४६ साल वैशाख २१ गतेदेखि उक्त विद्यालयमा प्राथमिक द्वितीय श्रेणी शिक्षकका रूपमा आफ्नो सेवायात्रा सुरु गरेका थिए । त्यसयता उनले प्राथमिक तह संयोजकसहित विभिन्न जिम्मेवारी सम्हाल्दै निरन्तर ३६ वर्ष २ महिना २३ दिनसम्म शिक्षण पेशामा उल्लेखनीय योगदान पु¥याएका हुन् ।
कार्यक्रमका वक्ताहरूले शिक्षक चौधरीको दीर्घकालीन समर्पण, अनुशासन र शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको उच्च प्रशंसा गरे । उनी राष्ट्रिय स्तरका भलिबल खेलाडी समेत रहेकाले विद्यालयमा खेलकुदको विकासमा पनि महत्वपूर्ण भूमिका खेलेको वक्ताहरूले स्मरण गरे । विद्यालय परिवारले आगामी दिनमा पनि उनको अनुभव र मार्गदर्शन खेलकुद क्षेत्रमा मार्गदर्शक बन्ने विश्वास गरेको छ ।
बिदाई कार्यक्रममा चौधरीलाई सम्मानपत्र, मायाको चिनो र दोसल्ला ओढाएर सम्मानपूर्वक विदाई गरिएको थियो। कार्यक्रममा चौधरीले विद्यालय परिवारप्रति आभार व्यक्त गर्दै आफ्नो शिक्षण जीवनका अनुभव बाँडेका थिए । बिदाई कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुलचन्द्र पौडेलले स्वागत मन्तव्य राखेका थिए भने शिक्षक बाल गोविन्द चौधरीले सहजीकरण गरेका थिए ।
आदर्श नमूना माध्यामिक विद्यालय देउपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान प्रसाद चौधरीको अध्यक्षता एवम् लमही नगरपालिका-६ का वडा अध्यक्ष श्याम नारायण चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रतिक्रिया दिनुहोस्