दाङ – लमही नगरपालिकाले हावाको प्रदूषण स्तर मापन गर्न “स्वच्छ हावा परियोजना” अन्तर्गत वायु गुणस्तर मापन सेन्सर जडान गरेको छ । यस सेन्सरले लमही क्षेत्रमा हावामा रहेका प्रदूषक तत्वको मात्रा र गुणस्तरको जानकारी प्रदान गर्नेछ ।
स्वच्छ ऊर्जा नेपाल (Clean Energy Nepal), क्यान नेपाल (CAN Nepal) र द युनिभर्सिटी अफ शिकागोको ईपिक एनर्जी पालिसी इन्स्टिच्युटको सहकार्यमा सञ्चालन गरिएको उक्त परियोजनाको उद्देश्य नेपालका शहरहरूमा बढ्दो वायु प्रदूषण नियन्त्रण र वातावरणीय सचेतना वृद्धि गर्नु हो ।
यो सेन्सरले हावामा रहेका PM2.5 लगायतका सूक्ष्म धुलो कणको मात्रा मापन गरी जनस्वास्थ्यमा पर्ने प्रभावबारे अभिलेख तयार गर्नेछ । नगर क्षेत्रको वायु गुणस्तर निगरानीमार्फत नगरपालिकाले आगामी दिनमा प्रदूषण नियन्त्रणका नीति तथा योजना तयार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
स्वच्छ हावा परियोजनाअन्तर्गत नेपालका अन्य प्रमुख शहरहरूमा पनि यस्ता सेन्सरहरू जडान गरिएका छन् । लमहीमा स्थापना भएको यो सेन्सरबाट प्राप्त तथ्यांक राष्ट्रिय वायु गुणस्तर व्यवस्थापन योजनाको कार्यान्वयनमा समेत उपयोगी हुने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्