लमही नगरपालिका–४ मा ६१ विपन्न परिवारलाई सुधारिएको चुलो वितरण

दाङ समाचार
दाङ समाचार १७ कार्तिक २०८२, आईतवार
2 Min Read
Aa

दाङ – लमही नगरपालिका–४ मा विपन्न तथा अति विपन्न परिवारलाई सुधारिएको चुलो वितरण गरिएको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, सिएसआरसी परियोजना र लमही नगरपालिकाको सहकार्यमा ६१ घरपरिवारलाई सुधारिएको चुलो वितरण गरिएको हो। लाभान्वित हुनेमध्ये विपन्न, अति विपन्न, एकल महिला, सुकुम्बासी, मुस्लिम तथा अपांग परिवारहरू रहेका छन्।

कार्यक्रमका प्रमुख अतिथि लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले सुधारिएको चुलोले इन्धनको खपत घटाउने, धुवाँको असर कम गर्ने र महिलाको स्वास्थ्यमा सुधार ल्याउने अपेक्षा व्यक्त गर्नुभयो। उहाँका अनुसार यस्ता कार्यक्रमहरूले वातावरण संरक्षणसँगै परिवारको आर्थिक बोझ पनि घटाउने छन्।

सुधारिएको चुलो प्रयोग गर्दा परम्परागत चुलोको तुलनामा काठको बचत हुने, खाना छिटो पकाउने, घरभित्रको धुवाँ न्यून हुने र वायु प्रदूषण घट्ने जनाइएको छ। यसले विशेषगरी महिलाहरू र बालबालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

त्यस्तै, वडा नम्बर ४ का कार्यबाहक वडा अध्यक्ष उमाकान्त चौधरीले सुधारिएको चुलोले धुवाँरहित वातावरण कायम गर्न, खाना पकाउने दक्षता बढाउन र वायु प्रदूषण घटाउन सहयोग गर्ने बताउनुभयो। उहाँका अनुसार यसले बालबालिका र वृद्ध व्यक्तिहरूको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्नेछ।

कार्यक्रमका क्रममा स्थानीय बासिन्दाहरूले यस्ता प्रविधिहरू गाउँघरमा विस्तार हुँदा वातावरणमैत्री र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न सहज हुने धारणा व्यक्त गरे। लमही नगरपालिकाले आगामी दिनमा अन्य वडाहरूमा पनि सुधारिएको चुलो वितरण कार्यक्रम विस्तार गर्ने योजना बनाएको जनाएको छ।

कार्यक्रम वडा नम्बर ४ का कार्यबाहक वडा अध्यक्ष उमाकान्त चौधरीको अध्यक्षता तथा उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा लमही नगरपालिका वन तथा वातावरण शाखा तथा विपत शाखा प्रमुख गायत्री थापाले सुधारिएको चुलोका बारेमा उपस्थित सबैलाई जानकारी दिनुभएको थियो।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्