दाङ – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, तुलसीपुर र लमही नगरपालिका बीच किसान बाट उत्पादित धान खरिदका लागि सम्झौता भएको छ । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी आफै लिमिटेडको कार्यालय तुलसीपुर पुगेर सम्झौता गर्नु भएको लमही नगरपालिका कृषि शाखा प्रमुख कमलराज विसीले जानकारी दिनु भएको छ ।
अबको केहि दिनमै धान खरिद बिक्रीको काम सुरु हुने प्रमुख विसीको भनाई छ । नेपाल सरकारले तोके अनुसार मोटा धानको प्रति क्युन्टल ३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसा किसानले पाउने गरि खरद बिक्रि हुने छ ।
लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले किसानलाई सहज रूपमा धान बिक्री गर्न सकिने व्यवस्था गरिएको जानकारी दिनु भएको छ । मनलाग्दी तरिकाले बजारमा धान किनबेच हुँदा किसानहरू मर्कामा परेको तथ्यलाई उहाँले स्पष्ट पार्दै यस वर्ष केही प्राविधिक कारणले कार्यक्रम सुरु हुन ढिलो भएको बताउनु भयो ।
नगर प्रमुख चौधरीका अनुसार अब लमही नगरपालिकाभित्र धानखेती गर्ने सबै किसानले आफ्नो उत्पादन गरिएको धान वडा नम्बर ३ मा रहेको धान भण्डारण घरमा बिक्री गर्न सक्ने छन् । सो स्थानलाई आधिकारिक रूपमा धान संकलन र भण्डारण केन्द्रका रूपमा नगरपालिकाले तोकेको हो ।
“अब किसानले बजारमा मनलाग्दी मूल्यमा धान बेच्नुपर्ने बाध्यता रहने छैन,” चौधरीले भने, “थप जानकारीका लागि वडा कार्यालय वा स्थानीय जनप्रतिनिधिहरूसँग सम्पर्क गर्न सक्नुहुन्छ ।” यस कार्यबाट किसानलाई उचित मूल्य र सहज बिक्री व्यवस्थाको आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्