देउवा पक्षका योगेन्द्र चौधरी सहित २४ केन्द्रीय सदस्यले नै मागे मंसिरमा महाधिवेशन

दाङ समाचार
दाङ समाचार २९ कार्तिक २०८२, शुक्रबार
2 Min Read
Aa

दाङ – कांग्रेसका २४ जना केन्द्रीय सदस्यहरुले मंसिरमै पार्टीको महाधिवेशन गर्न लिखित रुपमै ध्यानाकर्षण गराएका छन । संस्थापन पक्षले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको चुनावपछि मात्रै महाधिवेशनमा जानुपर्ने अडान राखिरहेका बेला त्यहीँ समूहमा रहेका केन्द्रीय सदस्यहरुले मंसिरमै महाधिवेशन गर्नुपर्ने माग अघि सारेका हुन ।

महाधिवेशन चुनाव अघि कि पछि गर्ने भन्ने विषयमा विवाद हुँदा कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक झण्डै दुई महिनादेखि अलमलमा छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले महाधिवेशन गरेर मात्रै चुनावमा जानुपर्ने अडान राखिरहेका छन् भने संस्थापन पक्ष जसरी पनि महाधिवेशन धकेल्न दाउमा छ।

विवाद भइरहेका बेला शुक्रबार संस्थापनमै रहेका केन्द्रीय सदस्यहरुले महामन्त्रीहरुलाई बल पुग्ने गरी मंसिरमै महाधिवशेन हुनुपर्ने माग कार्यवाहक सभापति पूर्णबहादुर खड्का समक्ष राखेका हुन्।

उनीहरुले बुझएको माग पत्रमा उल्लेख गरिएको छ, ‘आसन्नः २०८२ साल फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधान बमोजिम २०८२ साल मंसिर महिनाभित्र १५ औ महाधिवेशन प्रारम्भ गरी तहगत रुपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका चनाई लागू गर्ने।’

मंसिरमै महाधिवेशनको माग गर्ने केन्द्रीय सदस्यहरुमा राजेन्द्रकुमार श्रेष्ठ, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आरगेलु शेर्पा, डा. डिला संग्रौला छन्। त्यस्तै उदय शमशेर राणा, नानु बास्तोला, धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुर सिंह लामा, दिलमान पाख्रिन, अब्दुर सत्तार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी, चम्पादेवि खड्का र नाराणबहादुर कार्की छन्।

उनीहरुले अहिलको अवस्थालाई मध्यनजरगरी युवा पुस्ताहरुको समेत उल्लेखनीय प्रतिनिधित्वको सुनिश्चितता हुने गरी विधानमा संसोधन गर्नुपर्ने, हालसम्म पनि पार्टीको आन्तरीक निर्वाचन समितिले पुर्णता नपाएको हुँदा अभिलम्ब निर्वाचन समिति विस्तार गरी पुर्णता दिनु माग पनि अघि सारेका छन्।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्