दाङ – लमही नगरपालिकाद्वारा आयोजित ८ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले खेलकुद विद्यार्थी जीवनको एक महत्वपूर्ण विधा भएको बताएका छन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले खेलकुदले विद्यार्थीलाई अनुशासित, मर्यादित र जिम्मेवार बनाउने उल्लेख गरे। उनले खेलकुदमार्फत शारीरिक तथा मानसिक विकास मात्र नभई नेतृत्व क्षमता, सहकार्य र प्रतिस्पर्धाको भावना विकास हुने बताए । खेलकुदले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै समग्र देश विकाससँग खेलकुदको प्रत्यक्ष सरोकार रहेकोमा उनले जोड दिए। साथै स्थानीय तहबाटै खेलकुदको प्रवर्द्धन र प्रतिभा पहिचान गरिनु आवश्यक रहेको उनको भनाइ थियो ।
आजदेखि सुरु भएको ८ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सामुदायिक र संस्थागत गरी माध्यमिक विद्यालय १८, आधारभूत विद्यालय २४ र १८ वटा प्राथमिक विद्यालय सहभागी भएका छन् । त्यस्तै मार्चपास प्रतियोगितामा २४ वटा विद्यालय सहभागी भएका थिए। मार्चपासतर्फ माध्यमिक विद्यालय फल्कापुर प्रथम, आदर्श नमूना माध्यमिक विद्यालय देउपुर द्वितीय र रोजी बड्स बालबाटिका माध्यमिक विद्यालय तृतीय भएका छन् ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराँतेलगायतका खेल समावेश गरिएको छ । एथलेटिक्समा पदमा चौधरी, भलिबलमा यादव प्रसाद चौधरी र कबड्डीमा रेश्मा योगीलाई खेल प्राविधिकको जिम्मेवारी प्रदान गरिएको छ ।
आज भएको छात्रातर्फको चम्चा दौड प्रतियोगितामा प्राथमिक विद्यालय भ्युसनपुरकी सरिता कुमाल प्रथम, बाल जनता आधारभूत विद्यालय वनगाउँकी स्मारिका विक द्वितीय र जनज्योती आधारभूत विद्यालय घुम्नाकी पूजा कुमाल तृतीय भएकी छन्। उक्त जानकारी लमही नगरपालिका शिक्षा शाखा प्रमुख केशब लम्सालले दिएका छन् ।
लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको अध्यक्षता, लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उपप्रमुख लक्ष्मी योगीले स्वागत मन्तव्य राखेकी थिइन् भने विपद् शाखा प्रमुख गायत्री थापा र शिक्षा शाखाकी अम्बिका शर्माले कार्यक्रम सञ्चालन गरेका थिए । प्रतियोगिता पुस १२ गते समापन हुने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्