भ्याली पब्लिक अङ्ग्रेजी स्कुल गढवामा अक्षरारम्भ तथा दन्त परीक्षण कार्यक्रम सम्पन्न

दाङ समाचार
दाङ समाचार ११ माघ २०८२, शनिबार
1 Min Read
Aa

निराजन यादव, गढवा

दाङ – गढवा गाउँपालिका- ६ मा अवस्थित भ्याली पब्लिक अङ्ग्रेजी स्कुलले सरस्वती पूजाको पावन अवसर पारेर अक्षरारम्भ तथा निःशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

साना बालबालिकालाई औपचारिक शिक्षामा प्रवेश गराउने उद्देश्यले विद्यालयले अक्षरारम्भ कार्यक्रम आयोजना गरेको हो । साथै विद्यार्थीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै निःशुल्क दन्त परीक्षण कार्यक्रमसमेत सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक प्रतिमा के.के.का अनुसार कार्यक्रममा करिब ५० जना अभिभावक सहभागी थिए भने विद्यालयमा अध्ययनरत ३७५ जना विद्यार्थीको दाँत परीक्षण गरिएको थियो । उहाँले शिक्षा र स्वास्थ्यलाई सँगसँगै अघि बढाउने विद्यालयको नीति रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सहभागी एक अभिभावकले भन्नुभयो, “हाम्रा बालबालिकाको पढाइसँगै स्वास्थ्यमा पनि विद्यालयले ध्यान दिएको देख्दा खुसी लाग्यो । यस्ता कार्यक्रमले अभिभावक र विद्यालयबीचको सम्बन्ध अझ बलियो बनाउँछ ।”

अक्षरारम्भजस्तो सांस्कृतिक तथा शैक्षिक कार्यक्रमसँगै दन्त परीक्षणजस्तो उपयोगी कार्यक्रम सञ्चालन गर्नु विद्यालयको सराहनीय पहल भएको सहभागीहरूले बताएका छन ।

सरस्वती पूजाको अवसरमा आयोजना गरिएको यस कार्यक्रमले विद्यार्थी, अभिभावक र विद्यालयबीच सकारात्मक सन्देश प्रवाह गरेको स्थानीयवासीको भनाइ छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्