देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयकाे १८ औं वार्षिकोत्सव सफलता पूर्वक सम्पन्न

दाङ समाचार
दाङ समाचार ७ फाल्गुन २०८२, बिहीबार
4 Min Read
Aa

दाङ – देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयकाे १८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम बुधबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय तथा आवासीय विद्यालय एसोसिएसन नेपालका राष्ट्रिय अध्यक्ष सुवाश न्यौपानेले शिक्षा बिना देश विकासको परिकल्पना गर्नु दिवासपना मात्र हुने धारणा व्यक्त गर्नुभयो ।

उहाँले गाँस, बास र कपासपछि मानव जीवनको चौथो अपरिहार्य आवश्यकता शिक्षा भएको उल्लेख गर्दै राष्ट्रको समृद्धि र सभ्य समाज निर्माणका लागि शिक्षा क्षेत्रमा राज्यले दीर्घकालीन लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले गुणस्तरीय शिक्षा प्रवाहमा निजी तथा सामुदायिक विद्यालयबीच सहकार्य आवश्यक रहेको बताउँदै समयानुकूल, व्यवहारिक तथा प्रविधिमैत्री शिक्षाले मात्र सक्षम नागरिक उत्पादन गर्न सक्ने धारणा राख्नुभयो ।

कार्यक्रममा लमही नगरपालिकाका संस्थापक नगर प्रमुख कुलबहादुर केसीले शिक्षा क्षेत्रको विकासका लागि निजी तथा सामुदायिक विद्यालयबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गर्नु भयो । स्थानीय तहले शिक्षा सुधारका लागि विभिन्न नीतिगत पहल गरिरहेको उल्लेख गर्दै उनले सबै विद्यालयलाई गुणस्तर अभिवृद्धितर्फ उन्मुख हुन आग्रह गर्नु भएको छ ।

चैतन्य पाठशालाका प्रबन्ध निर्देशक डा. जीवराज आचार्यले शिक्षाले व्यक्तित्व विकाससँगै सामाजिक उत्तरदायित्वको भावना समेत जागृत गराउने बताउदै विद्यार्थीलाई केवल पाठ्यज्ञान मात्र नभई नैतिकता, अनुशासन र संस्कारसमेत प्रदान गर्नु आजको आवश्यकता भएको धारणा राख्नु भयो ।

प्याप्सन लमहीका अध्यक्ष नारायण भुसालले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै राज्यसँग सहकार्य गरी शिक्षा प्रणालीलाई अझ प्रभावकारी बनाउनु पर्ने बताउनु भयो । नेशनल प्याप्सनका केन्द्रीय उपाध्यक्ष प्रकाश कुमार शर्माले शिक्षा क्षेत्रको रूपान्तरणका लागि शिक्षक, अभिभावक र विद्यालयबीचको सहकार्य अपरिहार्य रहेको धारणा राख्नु भयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाहले शिक्षा र सूचना प्रवाहबीचको अन्तरसम्बन्धबारे प्रकाश पार्दै शिक्षित समाजले नै स्वस्थ लोकतन्त्रलाई सुदृढ बनाउने बताउनु भयो ।

कार्यक्रममा विद्यार्थी निलम डाँगीले विद्यार्थीहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै विद्यालयले प्रदान गरेको अवसर र मार्गदर्शनले आफूहरूलाई भविष्यप्रति आशावादी बनाएको बताउनु भयो । उहाँले शिक्षालाई जीवन परिवर्तनको प्रमुख माध्यमका रूपमा ग्रहण गर्न सहपाठीहरूलाई आग्रह गर्नु भयो ।

विद्यालय प्रशासनले आगामी दिनमा सूचना प्रविधिमैत्री शिक्षा, प्रयोगात्मक सिकाइ र नैतिक शिक्षालाई प्राथमिकता दिने योजना सार्वजनिक गरेको छ । विद्यालयले विद्यार्थीहरूलाई प्रतिस्पर्धी मात्र होइन, जिम्मेवार नागरिकका रूपमा तयार पार्ने लक्ष्य राखेको जनाएको छ । अभिभावक दिवसको अवसरमा अभिभावकहरूले विद्यालयको प्रगति र शैक्षिक वातावरणप्रति सन्तुष्टि व्यक्त गरेका थिए ।

उनीहरूले विद्यालयले बालबालिकाको सर्वांगीण विकासमा सकारात्मक भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै प्रयास निरन्तर रहोस् भन्ने अपेक्षा व्यक्त गरे । समग्रमा, देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयको १८ औँ वार्षिकोत्सवले शिक्षा, संस्कार र सहकार्यको सन्देश प्रवाह गर्दै समाजमा सकारात्मक ऊर्जा फैलाएको छ । शिक्षा नै राष्ट्र निर्माणको आधार हो भन्ने सन्देशलाई पुनः स्थापित गर्दै कार्यक्रमले विद्यार्थी, अभिभावक र समाजलाई एकै सूत्रमा बाँध्ने काम गरेको छ ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष रतनकुमार केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तथा प्रबन्धक भू-माण्डव केसीले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उहाँले विगत एक वर्षमा शैक्षिक उपलब्धि, भौतिक पूर्वाधार विस्तार, सह-पाठ्यक्रम गतिविधि तथा विद्यार्थी केन्द्रित कार्यक्रमहरू उल्लेखनीय रूपमा अघि बढेको जानकारी दिनु भयो । विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासन र नैतिक मूल्यलाई प्राथमिकतामा राखेर शैक्षिक वातावरण सुदृढ गर्दै आएको उहाँको भनाइ थियो ।

वार्षिकोत्सवको अवसरमा विद्यालयका विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । परम्परागत नृत्य, आधुनिक नृत्य तथा समूह गायनले कार्यक्रमलाई आकर्षक बनाएको थियो । थारू गायक दोषहरण चौधरीको सांगीतिक प्रस्तुति विशेष आकर्षणको केन्द्र बनेको थियो । सांस्कृतिक कार्यक्रमले स्थानीय संस्कृति र पहिचानलाई उजागर गर्दै उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेको थियो । शिक्षक मोहनलाल घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सञ्चालन अनुशासन संयोजक कुबेर गिरीले गर्नु भएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्