दाङ – लमही नगरपालिका अन्तर्गत नगर प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसार गर्दै गरेका तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । नगरपालिकाका अनुसार लमही नगरपालिका – ६ को मध्यनगरबाट एक वटा, वडा नं. ७ को हसनापुरबाट एक वटा तथा सोही वडाको वनगै क्षेत्रबाट अर्को एक वटा गरी कुल तीन वटा ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि प्रहरीको जिम्मा लगाइएको हो ।
यसअघि पनि अवैध रूपमा नदीजन्य पदार्थ चोरी निकासी गर्दै गर्दा कैयौं ट्याक्टरहरू नगर प्रहरीले नियन्त्रणमा लिएको थियो । पछिल्ला दिनमा यस्तो गतिविधि बढ्दै गएपछि नगरपालिकाले अनुगमन कार्यलाई तीव्रता दिएको जनाएको छ ।
नगरपालिकाको कार्यविधिअनुसार नदीजन्य पदार्थसहित एक पटक फेला परेको ट्याक्टरलाई ३५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने व्यवस्था छ । सोही ट्याक्टर पुनः चोरीनिकासी गर्दै गरेको अवस्थामा भेटिएमा ७० हजार रुपैयाँ जरिवाना लाग्ने प्रावधान रहेको छ । टिप्परलगायत अन्य सवारी साधनका हकमा भने फरक–फरक दरमा जरिवाना तोकिएको छ ।
अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसार गर्दा व्यवसायीले ठूलो परिमाणमा जरिवाना तिर्नुपर्ने व्यवस्था रहेकाले यस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन नगरपालिकाले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्