दाङ– नेपाली कांग्रेस दाङ १ का उम्मेदवार योगेन्द्र चौधरी ले मतदातालाई निर्धक्क भएर निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभएको छ । दाङ निर्वाचन क्षेत्र नम्बर १ का विभिन्न स्थानमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आगामी फागुन २१ गतेको निर्वाचन देश बदल्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो । उहाँले मतदातालाई कुनै किसिमको भ्रम र दबाबमा नपरी विवेकपूर्ण तरिकाले मतदान गर्न अपिल गर्नुभयो ।
चौधरीले दाङ देउखुरीका विभिन्न शहरीक्षेत्र बस्तीदेखि ग्रामीण भेगसम्म पुगेको उल्लेख गर्दै जनतासँग प्रत्यक्ष संवादमार्फत विकास, सुशासन र समृद्धिको एजेण्डा अघि सारेको बताउनुभयो । उहाँले क्षेत्र नम्बर १ को सडक, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीका क्षेत्रमा देखिएका समस्यालाई प्राथमिकतामा राखेर समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“जनताको मत नै परिवर्तनको बलियो आधार हो,” भन्दै उहाँले लोकतान्त्रिक मूल्य मान्यता सुदृढ गर्न कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । चौधरीले निर्वाचनलाई उत्सवका रूपमा मनाउँदै शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सहभागी हुन सबै मतदातासँग अपिल गर्नुभएको छ । कार्यक्रममा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूले समेत क्षेत्र नम्बर १ मा कांग्रेसको जित सुनिश्चित हुने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्