दाङ – इजरायलले लेबनानमा गरेको हवाइ आक्रमणमा एकै दिन २ सय ५४ जनाको मृत्यु भएको छ । यो आक्रमणमा १,१६५ भन्दा बढी मानिस घाइते भएका छन् । एकै दिन यति धेरै हताहति भएपछि लेबनानमा राष्ट्रिय शोक घोषणा गरिएको छ ।
लेबनानका प्रधानमन्त्री नवाफ सलामले देशका सबै राजनीतिक तथा कूटनीतिक स्रोत परिचालन गरेर इजरायली आक्रमण रोक्ने प्रयास भइरहेको बताएका छन् ।
स्वास्थ्यमन्त्री रकन नसेरदिनले अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेका छन् । ठूलो संख्यामा घाइतेहरूको उपचार गर्नुपर्दा स्वास्थ्य प्रणालीमा निकै दबाब परेको छ ।
यसैबीच, युद्धविराम (सीजफायर) को विषयमा विवाद झन् गहिरिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र अमेरिकी उपराष्ट्रपति जेडी भान्सले लेबनान उक्त सम्झौतामा समावेश नभएको बताएका छन् । भान्सले भने, ‘हामीले यस्तो कुनै प्रतिबद्धता गरेका थिएनौँ ।’
उता, इरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिका सामु स्पष्ट विकल्प रहेको बताएका छन् । या त युद्धविराम लागू गर्ने, वा इजरायलमार्फत युद्ध जारी राख्ने । उनका अनुसार, यी दुई कुरा सँगै सम्भव छैनन् ।

प्रतिक्रिया दिनुहोस्