लमहीमा अचार तथा लेडिज चप्पल उत्पादन सम्बन्धी सीप विकास तालिम सम्पन्न

दाङ समाचार
दाङ समाचार २३ बैशाख २०८३, बुधबार
2 Min Read
Aa

दाङ – लमही नगरपालिकाको आयोजनामा अचार बनाउने तथा लेडिज चप्पल उत्पादन सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत लमही नगरपालिका–६ देउपुरमा एक हप्तादेखि सञ्चालन गरिएको उक्त तालिम समापन गरिएको हो ।

स्थानीय महिला तथा पुरुषलाई स्वरोजगारमुखी बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिममा सहभागीहरुलाई ७ दिन अचार बनाउने र थप ७ दिन लेडिज चप्पल उत्पादन सम्बन्धी व्यावहारिक सीप प्रदान गरिएको थियो । तालिममा प्रशिक्षकहरुले अचार उत्पादनका विभिन्न विधि, गुणस्तर कायम गर्ने तरिका, प्याकेजिङ तथा बजारीकरणका विषयमा जानकारी गराएका थिए भने चप्पल उत्पादन तालिममा कच्चा पदार्थको प्रयोग, डिजाइन, निर्माण प्रक्रिया र बजार व्यवस्थापनबारे सहजीकरण गरिएको थियो ।

तालिम समापन कार्यक्रममा बोल्दै लमही नगरपालिका–६ का वडा अध्यक्ष श्याम नारायण चौधरीले सीपले मानिसलाई उद्यमशीलता र आर्थिक सशक्तीकरणसँग जोड्ने बताउनुभयो । उहाँले विशेषगरी महिलाहरु अब घरधन्दा र चुल्हो–चौकोमा मात्रै सीमित नरही आर्थिक गतिविधिमा सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

“अब महिलाहरु घरभित्र मात्रै सीमित रहने समय सकिएको छ । आर्थिक क्रान्तिमा महिलाहरुको सक्रिय सहभागिता आवश्यक छ । महिलाहरुले सीप सिकेर आत्मनिर्भर बन्नुपर्छ र नेतृत्व तहमा समेत पुग्नुपर्छ,” वडा अध्यक्ष चौधरीले भन्नुभयो ।

उहाँले नगरपालिकाले सञ्चालन गर्दै आएका यस्ता सीपमूलक तालिमहरुले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । सिकेको सीपलाई व्यवहारमा लागू गर्दै साना तथा घरेलु उद्योग सञ्चालन गर्न सहभागीहरुलाई आग्रह समेत गर्नुभयो ।

समापन कार्यक्रममा वडा सदस्य कृष्ण बहादुर खत्री क्षेत्री लगायत स्थानीय जनप्रतिनिधि, प्रशिक्षक तथा सहभागीहरुको उपस्थिति रहेको थियो । सहभागीहरुले तालिमबाट नयाँ सीप सिक्न पाएको र यसले भविष्यमा आयआर्जनका अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन् ।

लमही नगरपालिकाले मेड्पा कार्यक्रम अन्तर्गत नगरका विभिन्न वडाहरुमा यस्ता सीप विकास तालिम सञ्चालन गर्दै आएको जनाएको छ । कतिपय महिला तथा पुरुषहरु लघु उद्यमसँग जोडिएर आत्मनिर्भर बन्नुका साथै आफ्नो आर्थिक अवस्था समेत सुदृढ बनाउन सफल भएका छन् ।

स्थानीय स्तरमै उत्पादन र उद्यमशीलता प्रवर्द्धन गर्दै बेरोजगारी न्यूनीकरण गर्ने लक्ष्यसहित यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने नगरपालिकाले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्