दाङ – लमही नगरपालिका ७ बनगैस्थित बनगै टोल विकास संस्थाको साधारणसभा तथा अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनले तिलक सेन ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा निर्मला चौधरी, कोषाध्यक्षमा सपना थापा बुढा र सचिवमा सुवर्ण शाह चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा युवराज गिरी, अमृत चौधरी, दिलबहादुर चौधरी र गुरुप्रसाद घर्ती रहनुभएको छ ।
अधिवेशनले संस्थाको सल्लाहकारसमेत चयन गरेको छ । सल्लाहकारमा संस्थाका पूर्वअध्यक्ष बलबहादुर पुन मगर, किरण विक्रम शाह र हरिबहादुर पुन मगर रहनुभएको छ ।
साधारणसभा तथा अधिवेशनमा संस्थाको विगतका गतिविधि, उपलब्धि तथा आगामी कार्ययोजनाका विषयमा छलफल गरिएको थियो । टोलको विकास, सरसफाइ, सामाजिक एकता, आपसी सहयोग तथा स्थानीयस्तरका समस्या समाधानमा टोल विकास संस्थाको भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा समेत सहभागीहरूले जोड दिएका थिए ।
नवनिर्वाचित कार्यसमितिले टोलवासीको आवश्यकता र सुझावलाई प्राथमिकतामा राख्दै संस्थालाई थप सक्रिय र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ । टोलको समग्र विकासका लागि स्थानीयवासी, जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग सहकार्य गर्दै अघि बढ्ने बताइएको छ ।
अधिवेशनले नयाँ नेतृत्व चयनसँगै संस्थाको आगामी कार्यदिशा तय गर्दै टोलको सामाजिक तथा भौतिक विकासमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्