दाङ – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य योगेन्द्र चौधरीले जातको नाम बेचेर नेता बन्ने भ्रम बाट मुक्त हुन आग्रह गर्नु भएको छ । आइतबार नेपाली कांग्रेस गढवाले आयोजना गरेको तेस्रो गाउपालिका सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य चौधरीले उहाँले जात र पहिचानको नाममा राजनीतिमा उन्माद सिर्जना गरेर व्यक्तिगत फाइदा लिने र समाजलाई विभाजित गर्ने प्रवृत्तिबाट टाढा रहन आग्रह गर्नुभएको छ ।
संविधान सभा सदस्य समेत रहनु भएका चौधरीले सबैलाई साझा राष्ट्रिय हित र समावेशी लोकतन्त्रको पक्षमा एकजुट हुन र व्यक्तित्व, क्षमता र विचारलाई आधार बनाएर राजनीति गर्नुपर्ने सन्देश दिनुभएको छ । जातीय विभाजनको राजनीति दीर्घकालीन रूपमा समाजका लागि हानिकारक हुने भन्दै उहाँले सचेत रहन सबैलाई अपिल गर्नुभएको देखिन्छ ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य योगेन्द्र चौधरीले कांग्रेसलाई अझ मजबुत र जनमुखी बनाउन सबै तहका कार्यकर्ता, नेता तथा समर्थकको एकजुट सहयोग आवश्यक रहेको बताउनु भएको छ ।
उहाँले पार्टीलाई संगठनात्मक रूपमा बलियो बनाउन र लोकतान्त्रिक मूल्य मान्यताहरूलाई संस्थागत गर्न सबैले इमान्दारीपूर्वक योगदान दिनुपर्ने आवश्यकता औंल्याउनुभएको छ। चौधरीले नेपाली कांग्रेसको सुदृढीकरणले मात्र मुलुकमा स्थायित्व, समावेशीता र समृद्धिको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले नेता कार्यकर्ता मिल्नु पर्छ, काङ्ग्रेस बलियो बनाउन पर्छ भन्दै हिड्ने तर नतिजा शून्य किन आउँछ यो बारेमा गम्भीर बन्न आग्रह गर्नु भयो । क्रियाशिल सदस्यतालाई समयमै नविकरण गर्नु पर्छ, काङ्ग्रेसले देशको नेतृत्व गर्दा धेरै विकास भएका छन, रोजगारी सिर्जना भएका छन, जनताले बोल्न पाएका छन यी कुराहरुलाई स्मरण गर्नु पर्छ । काङ्ग्रेसले केही गरेन भन्ने भाष्य प्रयोग गर्न नहुने सभापति पुनको भनाई छ ।
सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक पदमा चौधरीलाई सम्मान गरिएको छ । खेलकुद क्षेत्रमा अतुलनिय योगदान रहेको भन्दै नेपाली कांग्रेस गढवा गाउँपालिकाको तेस्रो सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरी र नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले दोसल्ला ओढाएर चौधरीलाई सम्मान गर्नु भएको हो ।
नेपाली काङ्ग्रेस दाङका सभापति शंकर डाँगी, नेपाली काङ्ग्रेस दाङका सचिव अर्जुन कुमार योगी, नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डे, महासमिति सदस्य जानकीलाल बस्नेत, नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश क का सभापति श्रीपत चौधरी, ख का सभापति दिनेश गिरी, १ का पुर्व क्षेत्रीय सभापति वासुदेव जंगली, महाधिवेशन प्रतिनिधि अनुराग यादव, , वडा नम्बर ५ का सभापति देवराज कवँर लगायतले शुभकामना राख्नु भएको थियो ।
गढवा गाउँपालिका सभापति किरण पौडेलको सभापतित्व तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सचिव पूर्ण प्रसाद चौधरीले कार्यक्रमको संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्