दाङ – नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले यहि चैत्र २१ गते क्षेत्रीय सम्मेलन गर्ने भएको छ । बुधबार लमहीको पार्टी कार्यालयमा बसेको बैठक सो निर्णय गरेको क्षेत्रीय सभापति भेषराज पाण्डेले जानकारी दिनु भयो । तर सम्मेलनको प्रमुख अतिथि को हुने भन्ने बारे अझैं एकिन नभएको सभापतिको भनाई छ ।
सम्मेलनलाई भव्य रुपमा सफल पार्नका लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ । जस अनुसार अतिथि स्वागत सत्कारमा क्षेत्रीय सभापति पाण्डे, उपसभापतिहरु श्रीपत चौधरी र दिनेश गिरी रहनु भएको छ । अतिथिहरूको स्वागत, बसोबास र आतिथ्य सत्कारको व्यवस्था गर्नु हुने छ ।
त्यस्तै पार्टीको सांगठनिक प्रतिवेदनका लागि सचिव हरिहर शर्मा र खेम चौधरीको जिम्मेवारी रहेको छ । प्रचार–प्रसार उपसमितिमा किरण शाह, प्रिया स्मृती गजमेर र गणेश चौधरी रहनु भएको छ । यो समितिले सम्मेलनको प्रचार–प्रसार, सूचना सम्प्रेषण तथा प्रेस विज्ञप्ति तयार गर्ने समेतका कार्य गर्नु पर्ने छ ।
आर्थिकमा कोषाध्यक्ष गीता चौधरीले जिम्मेवारी लिनु भएको छ । उहाँले कार्यक्रम सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत व्यवस्थापन गर्नु हुने छ । मंच व्यवस्थापनमा अजय न्यौपाने, गंगा चौधरी र संसाद अलिलाई जिम्मेवारी प्रदान गरिएको छ । यो उपसमितिले कार्यक्रम स्थलको सजावट, ध्वनि प्रणाली, ब्यानर, पोस्टरको व्यवस्था गर्ने छ ।
खाजा नास्ता व्यवस्थापनमा विनोद पाण्डे र वाहाब सिद्दीकीले जिम्मेवारी पाउनु भएको छ । उहाँले सहभागीहरूका लागि खाना र खाजाको व्यवस्था गर्नु हुने छ । त्यस्तै साँस्कृतिक उपसमितिमा उमाकान्त चौधरी रहनु भएको छ । उद्घाटन तथा समापन सत्रमा सांस्कृतिक कार्यक्रमको तयारी गर्नुहुने छ ।
विगत कार्यसम्पादनको समीक्षा, संगठन सुदृढीकरण र विस्तार, आगामी निर्वाचन रणनीति तयारी र नीतिगत तथा सांगठनिक निर्णयहरू प्रस्तुत गरिने छ । नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ अन्तर्गतका सम्पूर्ण सदस्य, शुभेच्छुक, प्रतिनिधि, कार्यकर्ता र समर्थकहरूलाई समयमै उपस्थित भई सम्मेलनलाई सफल बनाउन क्षेत्रीय सभापति भेषराज पाण्डेले अनुरोध गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्