बस दुर्घटना अपडेटः घटनास्थलमा मृत्यु भएकी महिलाको सनाखत

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ५ बैशाख २०८२, शुक्रबार
2 Min Read
Aa

दाङ – बस दुर्घटना हुँदा देउखुरीमा घटना स्थलमा ज्यान गुमाएकी महिलाको परिचय खुलेको छ । घोराही उपमहानगरपालिका–३ झिङ्गनी निवासी ३५ बर्षिय पुष्पा नेपाली रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । उनको घटनास्थलमा बसले च्यापिएर मृत्यु भएको थियो । कृष्णनगरबाट तुलसीपुर आउदै गरेको बस राप्ती गाउँपालिका–५ लठ्हवा नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । एक जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

दुर्घटनामा परेर १५ जना बढी घाईते भएका छन् । बा ३ ख ७९९६ नम्बरको बस राप्ती–५ लठह्वामा दुर्घटनामा पर्दा राजपुर गाउँपालिका–५ निवासी ५६ वर्षीय निलसरोज यादवको उपचारको क्रममा मृत्यु भएको थियो । घाइतेहरूको सिसहनियाँ र लमहीमा उपचार भइरहेको छ । तीव्र गतिमा रहेको बस अनियन्त्रित भई दुर्घटनामा परेको प्रत्यक्षदर्शी पत्रकार केपी घिमिरेले जानकारी दिनुभयो ।

दुर्घटनामा परेर प्यूठान नगरपालिका–६ निवासी २७ बर्षिया मनिसा गुरुङ्ग, उनकी बहिनी भावना गुरुङ्ग, सोही ठाउँकी ९५ बर्षिया सुमित्रा गुरुङ्ग, लमही–४ की २४ बर्षिया रासु थापा, घोराही उपमहानगरपालिका–१० निवासी ४२ बर्षिय ललित वली, शिवराज नगरपालिकाकी २८ बर्षिया सरस्वती घर्तीमगर, उनकी चार महिनाकी छोरी रिया घर्ती, लमही–५ निवासी २५ बर्षिया संगिता जिसी, घोराही–५ निवासी ५० बर्षिया चोपिकला खत्री, सोही ठाउँका ५० बर्षिय बलबहादुर खत्री घाईते भएका छन् ।

यस्तै शिवराज नगरपालिका–२ निवासी ४५ बर्षिया पिउमाली घर्ती, सोही ठाउँ निवासी २३ बर्षिया सवनम नाउ, प्यूठान नगरपालिका–३ निवासी ५ बर्षिय प्रभास गुरुङ्ग, लमही–५ निवासी २५ बर्षिय साहिद हुसेन लगायत घाईते भएको प्रहरीले जनाएको छ । कृष्णनगर नजिक रहेको भारतीय बजारमा किनमेल गरेर फर्किदै गरेकाहरु बसमा सवार थिए । १३ जनालाई थप उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको छ भने दुई जना प्राथमिक उपचारपछी घर फर्किएको प्रहरीले जनाएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्