लक्ष्य १४ करोड, संकलन साढे ५ करोड मात्र

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १० जेष्ठ २०८२, शुक्रबार
4 Min Read
Aa

दाङ – लमही नगरपालिकाले यो आर्थिक वर्ष २०८१/८२ बित्नै लाग्दा ५ करोड ३१ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । पालिकाले यो आर्थिक वर्षमा १४ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । बितेको आर्थिक वर्षमा २३ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको लमही नगरपालिकाले ५ करोड ९२ लाख ४८ हजार ८ सय चवन्न रुपैयाँ ९ पैसा मात्र संकलन गर्न सकेको लमही नगरपालिका राजस्व शाखा प्रमुख रेशमलाल शर्माले जानकारी दिए ।

लमही नगरपालिकाको मुख्य आयस्रोत नदीजन्य पदार्थ हो, तर समयमा टेन्डर गर्न नसक्दा राजस्व संकलनमा कमि आएको राजस्व शाखा प्रमुख शर्माको भनाई छ । त्यस्तै चुरेले समयमा उत्खनन गर्ने अनुमति नदिनु अर्को दोस्रो प्रमुख कारण भएको शर्माले बताए । लमही नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन गर्नका लागि केहि राप्ती घाटमा टेन्डर समेत गरेको थियो तर प्राविधिक समस्याका कारण ति घाटहरुको टेन्डर रद्द गर्नु पर्दा पनि राजस्व संकलनमा घाटा भएको शर्माको भनाई छ । अहिले लमही नगरपालिकाको सात स्थानमा टेन्डर मार्फत नदीजन्य पदार्थ उत्खननको काम भैरहेको छ । यी सात वटा स्थानबाट १ करोड ७५ लाख ५१ हजार ५ सय ६९ रुपैयाँ राजस्व नगरपालिकामा जम्मा भएको छ ।

गत साउन देखि जेष्ठ ६ गते सम्ममा सम्पति कर बाट २३ लाख ४८ हजार २ सय ३ रुपैयाँ, भूमिकर तथा मालपोत बाट २५ लाख २७ हजार ७ सय ३५ रुपैयाँ, बहाल कर बाट २९ लाख ९७ हजार ४ सय ९९ रुपैयाँ ४४ पैसा, अन्य कर बाट ५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै सरकारी सम्पतिको बहाल बाट प्राप्त कर बाट ९ लाख ६२ हजार रुपैयाँ, कृषि उत्पादनको विक्री करबाट ५ सय, सरकारी सम्पतिको विक्रीबाट प्राप्त रकम ७६ लाख ८ सय रुपैयाँ, अन्य विक्रीबाट प्राप्त रकम ७० हजार ७ सय ७२ रुपैयाँ, अन्य सेवा शुल्क तथा विक्री बाट १७ लाख ३२ हजार ७९ रुपैयाँ राजस्व संकलन भएको छ ।

न्यायिक दस्तुर भनेर ९ सय रुपैयाँ जम्मा भएको छ भने शिक्षा क्षेत्रको आम्दानि ८५ हजार २ सय ५० रुपैयाँ, परिक्षा शुल्क १ लाख ९२ हजार ५ सय ५० रुपैयाँ, अन्य प्रशासनिक सेवा शुल्क बाट ६८ हजार रुपैयाँ, नक्सापास बाट ३३ लाख ५५ हजार ५ सय ४० रुपैयाँ, सिफारिस बाट ४६ लाख ८९ हजार १ सय ६३ रुपैयाँ, व्यक्तिगत घटना दर्ता बाट १३ लाख १ हजार ४ सय रुपैयाँ, नाता प्रमाणित बाट २ लाख १२ हजार २ सय ७० रुपैयाँ र अन्य बाट ९ लाख ७३ हजार ६ सय ४३ रुपैयाँ राजस्व जम्मा भएको नगरपालिकाले जनाएको छ ।

व्यवसाय रजिष्ट्रेशन बाट २७ लाख ८४ हजार १ सय ३० रुपैयाँ, न्यायिक दण्ड, जरिवाना र जफत बाट १ सय ५० रुपैयाँ, प्रशासनिक दण्ड, जरिवाना र जफत बाट ५ लाख ४३ हजार २ सय ९९ रुपैयाँ, अन्य राजस्व बाट ९९ लाख ३६ हजार ३ सय ३३ रुपैयाँ, व्यवसाय कर बाट ११ हजार २ सय ५० रुपैयाँ, मनोरंजन कर बाट २७ हजार रुपैयाँ र विज्ञापन कर बाट ७ लाख ७ हजार रुपैयाँ राजस्व संकलन भएको लमही नगरपालिकाको राजस्व शाखाले जनाएको छ ।

लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले लक्ष्य भेटाउन नसके पनि आर्थिक वर्षको अन्तिम सम्म ७ करोड राजस्व संकलन हुनेमा आफु विश्वस्त भएको बताए । किनकी अझै दुई महिना बाँकी छ, त्यतिबेलासम्म केहि राजस्व त जम्मा हुन्छ’- नगर प्रमुख चौधरीले भने । लमही नगरपालिकाले नगरपालिका स्थापना कालको केहि समय यता देखि राजस्व संकलन गर्ने राखेको लक्ष्य भेटाउनै सकिरहेको छैन ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्