दाङ – स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय घोराहीले सामाजिक उत्तरदायित्व अन्तर्गत घोराही उपमहानगरपालिका–२ स्थित श्री सरयू रात्री प्राथमिक विद्यालय, सुर्केडाँगीमा अध्ययनरत ६० जना बालबालिकालाई झोला तथा शैक्षिक सामग्री वितरण गरेको छ । संस्थाका वरिष्ठ सहायक पदम विकका अनुसार यस कार्यक्रमले विद्यार्थीहरूलाई अध्ययनमा प्रेरित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले संस्थाबाट ऋण लिएर जथाभावी दुरुपयोग नगरी आवश्यक काममामात्र सदुपयोग गर्न सबैलाई सुझाव दिएका छन् । कार्यक्रमको उदेश्य र परिचय तुलसीपुर शाखा प्रमुख बाबुराम श्रेष्ठले गराएका थिए ।
यसै अवसरमा संस्थाले आफ्ना सदस्य तथा अभिभावकहरूलाई २ दिने तरकारी खेती सम्बन्धी तालिम पनि प्रदान गरेको छ । साथै, २०७९ सालको एसईई परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने एक विद्यार्थीलाई नगद १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।
त्यस्तै, नेपालभरि सञ्चालनमा रहेको स्वावलम्बन लघुवित्त अन्तर्गत घोराही शाखाको केन्द्र नम्बर ३० नेपालकै दोस्रो स्थानमा परेर नगद २० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । संस्थाले वित्तीय साक्षरताका लागि तालिमसमेत सञ्चालन गरेको थियो, जसको प्रशिक्षक नेपाल राष्ट्र बैंकका पूर्व उपनिर्देशक उमा जोशी बोहरा रहेकी थिइन् ।
कार्यक्रमका क्रममा शाखा कार्यालय अन्तर्गत द्वितीय र तृतीय स्थान प्राप्त दुई समूहलाई नगद पुरस्कार तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा अजय कुमार केसीले स्वागत मन्तव्य राखेका थिए भने प्रेम रावतले संचालन गरेका थिए ।
उक्त कार्यक्रम स्वावलम्बन लघुवित्त घोराही शाखा प्रमुख गोकुल बगालेको अध्यक्षतामा तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष चित्र बहादुर चौधरी, विद्यालयका प्रधानाध्यापक गिरिराज भण्डारी, तुलसीपुर शाखा प्रमुख बाबुराम श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि टेक बहादुर नेपालीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्