साना बालबालिकाको शिक्षामा संवेदनशीलता आवश्यक – नगरप्रमुख चौधरी

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २९ जेष्ठ २०८२, बुधबार
2 Min Read
Aa

दाङ – लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले साना बालबालिकाको शिक्षण कार्य अत्यन्त संवेदनशील र जिम्मेवारीपूर्ण हुने बताएका छन्। लमही नगरपालिका-६ स्थित रहेको आदर्श नमूना माध्यामिक विद्यालय देउपुरमा बुधबारदेखि आइतबारसम्म सञ्चालन हुने उत्प्रेरणात्मक तालिमको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले यस्तो धारणा राखेका हुन ।

नगरप्रमुख चौधरीले शिक्षामा गुणस्तर अभिवृद्धिका लागि योग्य र प्रेरित शिक्षकको भूमिका सबैभन्दा महत्वपूर्ण हुने बताए। “सिकाइ प्रभावकारी बनाउन शिक्षक स्वयं उत्प्रेरित र सशक्त हुनुपर्छ,” उनले भने, “योग्य शिक्षकबाट मात्रै बालमैत्री वातावरणको सिर्जना सम्भव हुन्छ।” प्रमुख चौधरीले भने, “साना बालबालिकाको शिक्षण कार्य केवल ज्ञान बाँड्ने मात्र होइन, उनीहरूको मनोविज्ञान र भावनात्मक विकासलाई समेत लक्षित गर्ने संवेदनशील प्रक्रिया हो । यहाँ प्रयोग गरिने प्रत्येक शब्द र विधि उनीहरूको दीर्घकालीन विकासमा महत्वपूर्ण भूमिका खेल्छन्।”

त्यसैगरी वडा नम्बर ६ का वडा अध्यक्ष श्याम नारायण चौधरीले तालिमले शिक्षकहरूलाई व्यवहारिक, शिक्षामैत्री र नतिजामुखी बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । तालिम शिक्षकमैत्री, बालमैत्री र परिणाममुखी बन्नेछ भन्ने कुरामा वडा अध्यक्ष चौधरीले जोड दिए । साथै उनले योग्य र प्रेरित शिक्षकहरूको माध्यमबाट मात्र सकारात्मक सिकाइ वातावरण सिर्जना गर्न सकिने र यसले बालबालिकाको आत्मविश्वास तथा रचनात्मकतामा वृद्धि गर्न सकिने बताए ।

शिक्षकमैत्री पद्धति अनुसार छात्र–शिक्षकबीच विश्वास र सहयोगको वातावरण निर्माण गर्ने, बालमैत्री शिक्षाशैली अन्तर्गत खेलकुद, कथा–कथन र क्रियाशील सिकाइद्वारा रुचि जागरण र परिणाममुखी मूल्याङ्कन अन्तर्गत नियमित रूपमा प्रगति जाँच र सुधारका उपायहरू अवलम्बन गर्ने तालिमका मुख्य उद्देश्य रहेको आदर्श नमूना माध्यामिक विद्यालय देउपुरका प्राचार्य कुलचन्द्र पौडेलको भनाई छ । लमही नगरपालिका-६ भित्र रहेका सामुदायिक विद्यालयका १६ जना शिक्षकले उक्त तालिममा भाग लिएका छन ।

सो क्रममा आदर्श माध्यामिक विद्यालय देउपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान प्रसाद चौधरी, प्राचार्य कुलचन्द्र पौडेल लगायतले शुभकामना दिएका थिए । वडा नम्बर ६ का वडा अध्यक्ष श्याम नारायण चौधरीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संचालन वडा सचिव आनन्द कंवर योगीले गरेका थिए । एक्टिभिटी बेस इन्स्ट्रक्सन नेपाल नामक संस्थाले प्राविधिक सहयोग गरेको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्