विपद् पूर्वतयारी र सूचना व्यवस्थनलाई प्राथमिकता दिन जरुरी – नगरप्रमुख चौधरी

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ३२ जेष्ठ २०८२, शनिबार
3 Min Read
Aa

दाङ – प्राकृतिक विपद्का कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न पूर्वतयारी र सूचना व्यवस्थापनलाई प्राथमिकता दिनु पर्नेमा लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीले जोड दिएका छन ।

लमहीमा आयोजना गरिएको विपद् जोखिम न्यूनीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै नगरप्रमुख चौधरीले बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक प्रकोपहरू हरेक वर्ष दोहोरिएर आउने भएकाले यस्ता विपद्बाट हुने सम्भावित क्षतिलाई न्यूनतममा झार्न पूर्वसूचना प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु अत्यावश्यक भएको बताए ।

त्यसैगरी लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले विपद् आउनु पूर्व नै जानकारी पाउने व्यवस्था मिलाउन सकेमा धेरै ठूला क्षतिबाट जोगिन सकिने बताईन । खासगरी जोखिमयुक्त क्षेत्रका नागरिकलाई सचेत बनाउँदै सुरक्षाका उपायहरू अपनाउन सघाउन सूचना प्रणाली निकै उपयोगी सावित हुन सक्ने योगीको भनाई छ ।

नगरपालिकाले हालै गठन गरेको विपद् व्यवस्थापन समितिलाई थप सक्रिय बनाउँदै सूचना संकलन, विश्लेषण र समुदायसम्म समयमै जानकारी पुर्‍याउने कार्यलाई प्राथमिकतामा राखिएको नगरप्रमुख चौधरीले जानकारी दिनुभयो । यसअघि आएको बाढीले नगरको विभिन्न वडामा ठूलो क्षति पुर्‍याएको थियो ।

लमही नगरपालिका दाङ जिल्लाको बाढी, डुबान र पहिरोको उच्च जोखिममा पर्ने क्षेत्रहरूमध्ये एक हो । लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले अहिलेबाटै सबैजना सचेत भयौं भने विपद् व्यवस्थापनको अभ्यासको सार्थकता हुनेछ, जीवन र धनको रक्षा गर्ने प्रभावकारी माध्यम बन्न सक्ने बताए ।

लमही नगरपालिका–३ का वडा अध्यक्ष मनोज कुमार चौधरीले विपद्को सामना गर्न सामूहिक प्रयास आवश्यक हुने बताए । विपद् पूर्वसूचना प्रणालीसम्बन्धी आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले विपद् आउँदा प्रायः पूर्वजानकारी नहुने हुँदा समयमै सतर्कता र सचेतना अपनाउनु जरुरी रहेको बताए । “विपद् बेला सबै सरोकारवाला एकजुट भएर काम गरे मात्र प्रभावकारी प्रतिकार्य सम्भव हुन्छ,” उनले भने ।

पूर्व सूचना प्रणलीबारे अभिमुखीकरण

लमही नगरपालिकामा शुक्रबार विपद् पूर्वसूचना प्रणालीसम्बन्धी अभिमुखीकरण गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा भएको कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकायहरुको सहभागिता थियो । प्राधिकरणका सहसचिव इन्जिनियर अर्जुनकुमार वमको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विपद् पूर्वसूचना प्रणालीको उपयोगिता, महत्व र व्यवहारिक अभ्यासबारे विस्तृत जानकारी दिइएको थियो ।

कार्यक्रममा जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख रामप्रसाद अवस्थी, नेपाल सशस्त्र प्रहरीलेका डीएसपी लक्ष्मणबहादुर बस्नेत तथा उपसचिव राजेन्द्र शर्माले विपद् प्रतिकार्यमा सूचना प्रणालीको भूमिका, खोज तथा उद्धार कार्यमा सहयोग, र समुदायसँगको सहकार्यबारे प्रस्तुति दिएका थिए ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्