दाङ – लमही नगरपालिका वडा नम्बर ३ मजगाउँमा थारु समुदायको मौलिक संस्कृति जगेर्ना गर्ने उद्देश्यले ‘थारु बड्का नाँच संरक्षण कार्यक्रम’ सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी प्रकाश देवकोटाले थारु समुदायको संस्कृति मौलिक र ऐतिहासिक महत्व बोकेको बताउँदै यसको संरक्षणमा समुदाय आफैँ सक्रिय हुनुपर्ने बताए । उनले भने, “आफ्नो धर्म, संस्कृति र पहिचान जोगाउन बाहिर कसैको मुख ताक्नुभन्दा पनि हामी आफैँ लाग्नु आवश्यक छ ।”
लमही नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेलले समेत थारु बड्का नाँच थारु पहिचानको अभिन्न अङ्ग भएको उल्लेख गर्दै यस प्रकारका कार्यक्रमले नयाँ पुस्तामा सांस्कृतिक चेतना र गौरव जगाउने विश्वास व्यक्त गरे । वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले वडा नम्बर ३ का स्थानीयले थारु संस्कृति जोगाउन गरेको प्रयास अत्यन्तै प्रशसंनीय भएको बताए ।
कार्यक्रममा थारु समुदायका बृद्ध–बृद्धा, युवायुवती तथा बालबालिकाले सहभागिता जनाएका थिए । बड्का नाँच प्रदर्शनसहित थारु परिकार र भेषभूषाको पनि प्रदर्शनी गरिएको थियो । थारु संस्कृति जोगाउने यो प्रयासले समुदायबीच एकता, पहिचान र मौलिकता प्रवर्द्धन गर्ने विश्वास लिइएको छ ।
कार्यक्रम लमही नगरपालिका–३ का वडा अध्यक्ष मनोज कुमार चौधरीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । यहाँका स्थानीय बड्का नाँचलाई संरक्षण गर्दै आएका थिए तर बिचमा केहि समस्याका कारण रोकिएको थियो, वडा अध्यक्ष चौधरीको पहलमा बड्का नाँच पुनः सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्