कक्षा ८ र १० मा उत्कृष्ट नतिजा ल्याउँदै शिवशक्ति मावि भौवानाका प्रथम

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १५ असार २०८२, आईतवार
4 Min Read
Aa

दाङ – राजपुर गाउँपालिका दाङ जिल्लाकै दुर्गम पालिका हो । वडा नम्बर १ देखि ७ नम्बर सम्म यो पालिकाको बस्ति छरिएर रहेको छ । सिमा क्षेत्रका बस्तीहरुको छिमेकी देश भारतसंग सिमाना जोडिएको छ । नेपाल आउनु भन्दा सिमाना क्षेत्रका स्थानीयलाई भारतीय बस्ति र बजार पुग्न सहज र सरल छ । अहिले पनि प्राय सिमा क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, टेलिफोन, बिजुली, यातायात जस्ता अत्यावश्यक विषयमा जनताको सहजै पहुँच हुन सकेको छैन । त्यस्तै अनकन्टार क्षेत्रमा रहेका सामुदायिक विद्यालयले हरेक वर्ष हुने परिक्षामा सम्मानजनक नतिजा ल्याउदै पालिकाको शिर उचो राख्न सफल भएका छन ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ मा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा राजपुर गाउँपालिका वडा नम्बर ७ मा रहेको शिवशक्ति माध्यामिक विद्यालय भौवा नाकाले ८३.३३ प्रतिशत अंक प्राप्त गरि प्रथम भएको छ । यस विद्यालय बाट ६ जना विद्यार्थी सहभागी भएका मध्ये ५ जना उतिर्ण भएको विद्यालयका प्रधानाध्यापक लिलाधर विश्वकर्माले जानकारी दिए ।

यो विद्यालयले कक्षा ८ को पालिका स्तरीय परिक्षामा पनि पालिका प्रथम हुन सफल भएको थियो । कक्षा ८ को पालिका स्तरिय परिक्षामा १३ जना सहभागी भएका मध्ये २ जना उतिर्ण भएका थिए भने अन्य ५ वटा विद्यालयले शुन्य नतिजाले ल्याएका थिए । विद्यालयको शैक्षिक गुणस्तर सुधार्नका लागि विद्यालयका प्रधानाध्यापक र विषयगत शिक्षक महत्वपूर्ण भएको प्रधानाध्यापक विश्वकर्माको भनाई छ ।

त्यसैगरी बालकल्याण माध्यामिक विद्यालय खंग्रानाका पालिका दोस्रो भएको छ । उक्त विद्यालयबाट ४ जनाले एसईई परिक्षा दिएकोमा २ जना उतिर्ण भएका छन्, विद्यालयले ५० प्रतिशत अंक ल्याएको छ । त्यसैगरी साधारण नमूना माध्यामिक विद्यालय सालभौरीबाट ३० जना परीक्षार्थी सहभागी भएकोमा १३ जना उतिर्ण भएका छन । सालभौरीले ४३.३३ प्रतिशत अंक लिएर तेस्रो भएको छ । माध्यामिक विद्याल सिक्टाबाट २१ जना सहभागी परीक्षार्थी मध्ये ८ जना उतिर्ण भएका छन, यो विद्यालयले ३८.०९ प्रतिशत अंक ल्याएको छ ।

गौरीशंकर माध्यामिक विद्यालयबाट ६ जना परीक्षार्थी सहभागी भएकोमा २ जना उतिर्ण भएका छन र यो विद्यालयले ३३.३३ प्रतिशत, माध्यामिक विद्यालय दुलैया बाट २९ जना परीक्षार्थी सहभागी भएका मध्ये ५ जना मात्र उतिर्ण भएका छन । एसईई परिक्षामा सबैभन्दा धेरै जनज्योति माध्यामिक विद्यालय मटेरियाबाट सहभागी भएका थिए । यो विद्यालय बाट ६२ जना विद्यार्थीले परिक्षा दिएपनि जम्मा १२ जना मात्र उतिर्ण भएका छन । यो विद्यालयले जेनतेन १९.३५ प्रतिशत अंक ल्याएको छ ।

शंकर माध्यामिक विद्यालय खरादरियाबाट २३ जना विद्यार्थी सहभागी भएकोमा ४ जना मात्र उतिर्ण भएका छन, यी दुवै विद्यालयले ( शंकर माध्यामिक विद्यालय खरादरिया- १७.३९ प्रतिशत, र माध्यामिक विद्यालय दुलैया-१७.२४ प्रतिशत ) उस्तै उस्तै अंक प्राप्त गरेका छन । सिमावर्ती र दुर्गम क्षेत्रका विद्यालयहरूले असहज भौगोलिक र शैक्षिक पहुँचका बाबजुद पनि राम्रो नतिजा ल्याउँदै सामुदायिक शिक्षामा आशा र भरोसा थपेका छन । पालिकाका अन्य विद्यालयले पनि भावी दिनमा सुधारको संकल्प गर्नुपर्ने देखिन्छ ।

राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले विद्यालयको निरन्तर प्रगतिको श्रेय विषयगत शिक्षकहरूको मेहनत, विद्यालयका प्रधानाध्यापक र व्यवस्थापनको सुधारका कारण राम्रो नतिजा ल्याउन सफल भएको बताएका छन । उनले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि पालिका र विद्यालय परिवारको सामूहिक प्रयास जारी रहेको बताए । अन्य विद्यालयले पनि शावाशक्ति माध्यामिक विद्यालयको जस्तै राम्रो नतिजा आउने गरि शैक्षिक सुधारमा लाग्न निर्देशन दिए ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्