लमहीमा व्यवसायी प्रशिक्षण, स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने खालका व्यवहार नगर्न आग्रह

दाङ समाचार
दाङ समाचार ३२ श्रावण २०८२, शनिबार
2 Min Read
Aa

दाङ – देउखुरी उद्योग वाणिज्य संघले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेसँग सहकार्य गरेर शुक्रबार व्यवसायीसँग अन्तरक्रिया तथा प्रशिक्षण गरेको छ । उपभोक्तामैत्री व्यवसायका लागि व्यवसायीलाई प्रशिक्षण दिइएको हो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख हरिबहादुर खत्रीले व्यवसाय सञ्चालन आफैंमा संवेदनशील विषय भएकाले जिम्मेवारीपूर्वक व्यवहार गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो‘उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने खालका व्यवहार कसैले पनि गर्नु हुँदैन । उत्पादन मिति र सकिने मिति स्पष्ट रूपमा नेपालीमा राख्नुस् । चिल्लाले चिलिम बनाउँछ । विषादी मिसिएको तरकारी, फलफूल विक्री भइरहेको छ । यसमा पनि ध्यान दिन जरुरी छ । अब अनलाइन व्यापारको कानुन बन्दै छ । यसले अहिले देखिएका समस्या पनि समाधान गर्नेछ ।’

लमही–५ का वडा अध्यक्ष ओमप्रसाद सुवेदीले हरेक उपभोक्ताले निगरानी गर्नुपर्ने बताउनुभयो । देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले प्रशिक्षणको वर्ष सकिएको र अब अनुगमनको वर्ष सुरु भएको जानकारी दिनुभयो । उहाँले निर्मम भएर अनुगमन गरिने, दोषी भेटिएकालाई कारबाहीको दायरामा ल्याइने बताउनुभयो । उहाँले भन्नुभयो–‘कसैप्रति आग्रहपूर्वाग्रह राखिँदैन तर अनुगमन निर्मम हुन्छ । कमी कमजोरी भेटिएको ठाउँमा कारबाही हुन्छ । हामीलाई भोटको बरु चिन्ता छैन, व्यवसायमा सुधार ल्याएर छाड्छौँ ।’

अध्यक्ष कमलजंग सिंह ठकुरीको अध्यक्षता तथा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख हरिबहादुर खत्रीको प्रमुख आतिथ्यतामा प्रशिक्षण गरिएको थियो । कार्यक्रममा सहजीकरण वरिष्ठ उपाध्यक्ष केशवराज पोखरेलले गर्नुभएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्