गौ संरक्षणका लागि लमहीमा भागवत महायज्ञ सञ्चालन हुने

दाङ समाचार
दाङ समाचार ६ भाद्र २०८२, शुक्रबार
1 Min Read
Aa

दाङ – गौ संरक्षण तथा छाडा पशु व्यवस्थापनका लागि लमही नगरपालिका –६, खैरीमा भदौ १४ देखि २१ गतेसम्म श्रीमद भागवत ज्ञान महायज्ञ तथा श्रींगारिक महा आरती आयोजना गरिने भएको छ ।

वडा अध्यक्ष श्याम नारायण चौधरीको अध्यक्षतामा बसेको वडा बैठकले उक्त निर्णय गरेको हो । वडा नम्बर ६ मा अस्थायी गौशाला निर्माण गरी छाडा पशु नियन्त्रणको प्रयास भइरहेको जनाउँदै, गौशालामा रहेका गाईहरूका लागि घाँस, पराल व्यवस्थापन तथा संचालन खर्च जुटाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको चौधरीले जानकारी दिए ।

महायज्ञ सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको छ । खुशीराम चौधरीको संयोजकत्वमा १३ सदस्यीय मूल समिति तथा वडा अध्यक्ष चौधरीसहित १५ सदस्यीय सल्लाहकार समिति बनाइएको छ ।

त्यस्तै प्रिया स्मृति गजमेरको संयोजकत्वमा प्रचारप्रसारका लागि ५ सदस्यीय समिति गठन गरिएको छ, जसमा लिला शाह, राधेश्याम गुप्ता, दशरथ घिमिरे, अनुप बुढा र डिलाराम पुलामी सदस्य छन ।

महायज्ञको अवसरमा शोभायात्रा समेत आयोजना गरिनेछ, जसका लागि कान्तु प्रसाद चौधरीको संयोजकत्वमा ९ सदस्यीय शोभायात्रा उपसमिति गठन गरिएको छ । कथा वाचकमा भाष्कराचार्य पदक विभूषित प. श्री विष्णु वल्लभाचार्य रहने छन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्