दाङ – इलाका प्रशासन कार्यालय लमहीमा कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन्। नियमित सेवाका लागि दैनिक सयौँ सेवाग्राही आउने यो कार्यालय हाल प्रमुखविहीन बनेपछि स्थानीयले घोराही पुगेर सेवा लिनुपर्ने बाध्यता खेपिरहेका छन्।
गत वैशाख १० गते अनिल रिजाल शाखा अधिकृतका रूपमा लमही कार्यालयमा हाजिर हुनु भएको थियो । तर, उहाँ भदौ २३ गते सरुवा भई अन्यत्र गएपछि कार्यालय प्रमुखको पद खाली भएको हो । हाल नायव सुब्बा इश्वरी भारतीले निमित्त कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ।
त्यहाँका कर्मचारीका अनुसार, लमहीमा आउने कार्यालय प्रमुखहरू प्रायः ४–५ महिनामै सरुवा भई जाने गरेका छन्, जसले गर्दा सेवा प्रवाहमा निरन्तरता रहँदैन । देउखुरी क्षेत्रका चारवटै पालिकाका बासिन्दाले यही कार्यालयबाट नागरिकता, सिफारिस लगायतका प्रशासनिक सेवा लिँदै आएका छन । तर, प्रमुख नहुँदा सेवा ढिलो हुने र कतिपयले घोराही जानुपर्ने अवस्था सिर्जना भएको स्थानीयको गुनासो छ ।
यस विषयमा दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले कर्मचारी अभावका कारण तत्काल नयाँ कार्यालय प्रमुख पठाउन नसकिएको बताउनुभयो । “देउखुरी क्षेत्रको समस्या हामीले बुझेका छौं, छिट्टै कार्यालय प्रमुख पठाएर समस्या समाधान गरिनेछ,” प्रजिअ अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्