दाङ – लमही नगरपालिकाले स्थानीय पुष्पखेतीलाई प्रवर्द्धन गर्ने उद्देश्यले नगरवासीहरूलाई सयपत्री फुलको माला खरिद–बिक्री र प्रयोग गर्न अनुरोध गरेको छ ।
गत असोज २२ गते नगर प्रमुख जोगराज चौधरीको अध्यक्षतामा बसेको सरोकारवालासँगको बैठकले प्लास्टिकजन्य मालालाई पूर्ण रूपमा प्रतिबन्ध गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी सरोकारवालाहरूले स्थानीय किसानले गर्दै आएको पुष्पखेतीलाई प्रोत्साहन र संरक्षण गर्न सबैले सहयोग गर्नुपर्ने निष्कर्ष निकालेका थिए ।
बैठकपछि नगर प्रमुख चौधरीले “स्थानीय उत्पादनको सम्मान र वातावरण संरक्षणका लागि प्राकृतिक फूलको प्रयोग सबै नगरवासीको दायित्व हो,” भन्दै सौन्दर्य र स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ । लमही नगरपालिकाले हरेक वर्ष तिहारका समयमा प्लाष्टिक बाट बनेका मालाहरुमा प्रतिवन्ध लगाउदै आएको छ ।
गतवर्षको जस्तै यस वर्ष पनि लमही नगरपालिकाका पुष्प व्यवसायीहरुले सयपत्री फुलको खेती गर्दै आएका छन । लमही नगरपालिका कृषि शाखाबाट प्राप्त जानकारी अनुसार हालसम्म वडा नम्बर ६ का विभिन्न स्थानमा किसानहरुले सयपत्री फुलको खेती गरेका छन ।
लमही नगरपालिका–६ निवासी बसन्तराज चौधरीले १ कठ्ठामा सयपत्री फुलको खेती गरेका छन् भने सोही वडाका डिलबहादुर आलेले १० धुरमा खेती गरेका छन । त्यसैगरी संगीता पुनले १ कठ्ठा र दीपा घर्तीले पनि १ कठ्ठा जमिनमा सयपत्री फुल खेती गरेको कृषि शाखाले जनाएको छ ।
तिहार नजिकिँदै गर्दा पुष्प व्यवसायीहरू सयपत्री फुल उत्पादनमा व्यस्त छन् भने नगरपालिकाले पनि स्थानीय फुलको प्रयोगलाई प्राथमिकता दिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्