लमहीमा होटल तथा ठेला व्यवसायमा अनुगमन, बासी खाना र रङ मिसावट गरेको भेटियो

दाङ समाचार
दाङ समाचार २५ कार्तिक २०८२, सोमबार
2 Min Read
Aa

दाङ – लमही बजारको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रहेका होटल र बसपार्क क्षेत्रमा सञ्चालन भइरहेका खाजा–नास्ता पसल तथा ठेलामा सोमबार अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा केही होटलहरुले बासी र सडेको खाना बिक्री गरेको भेटिएको लमही नगरपालिका उपभोक्ता हित संरक्षण शाखाका प्रमुख शरद पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै नियमित अनुगमन कार्यलाई तीव्रता दिइएको हो ।

त्यसैगरी राजमार्ग किनारमा रहेका ठेलामा चाट बिक्री गर्ने व्यापारीहरुलाई रङ मिसावट नगरी स्वच्छ वातावरणमा व्यापार सञ्चालन गर्न निर्देशन दिइएको छ । अनुगमनका क्रममा केही ठेलाबाट रङ मिसाइएको केराउ बरामद गरिएको बताइएको छ । साथै, केही व्यापारीहरुले अण्डामा रङ मिसाउने र प्याज–लसुन काटेर लामो समयसम्म राख्ने गरेको पनि पाइएको अनुगमन टोलीले जनाएको छ ।

खाजा पसलमा अत्यधिक रङ प्रयोग गरिएको कारण धेरै पसलबाट जेरि र मासुजन्य परिकार बरामद गरी नष्ट गरिएको हो । अखाद्य पदार्थ मिसाएर बनाइने परिकारले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले व्यवसायीहरुलाई सचेत गराइएको टोलीले जनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर, दाङका खाद्य निरीक्षण अधिकृत सुदर्शन गोसाईले पटक–पटक सचेत गराउँदा पनि केही व्यवसायीले अटेर गरेको बताउनुभयो । उहाँले भन्नु भयो, “अब पनि सुधार नगर्ने व्यवसायीलाई कानूनी दायरामा ल्याइनेछ ।”

अनुगमन टोलीमा खाद्य निरीक्षण अधिकृत सुदर्शन गोसाई, लमही नगरपालिका उपभोक्ता हित संरक्षण शाखाका प्रमुख शरद पाण्डे, होटल व्यवसायी संघ लुम्बिनी प्रदेशकी सुमित्रा भट्टराई, लमही होटल व्यवसायी समिति अध्यक्ष नारायण प्रसाद भुसाल, वडा प्रहरी कार्यालय लमहीका प्रहरी हवल्दार हरि गिरीलगायतको सहभागिता रहेको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्