लमही अस्पतालका अध्यक्ष चौधरीद्वारा मुस्कानसहित सेवा दिन निर्देशन

दाङ समाचार
दाङ समाचार २६ कार्तिक २०८२, मंगलवार
2 Min Read
Aa

दाङ – लमही अस्पतालका अध्यक्ष जोगराज चौधरीले बिरामीप्रति मुस्कानसहितको व्यवहार गर्दै गुणस्तरीय सेवा प्रवाह गर्न अस्पतालका कर्मचारीहरूलाई निर्देशन दिनु भएको छ ।

आज लमही अस्पतालमा बसेको समिक्षा तथा छलफल बैठकमा अध्यक्ष चौधरीले अस्पतालमा उपचारका लागि आउने हरेक बिरामीलाई समान व्यवहार गर्नुपर्ने बताउनुभयो । उहाँले पावर वा पहुँचका आधारमा नभई हरेक बिरामीलाई समान अधिकारका साथ सेवा दिन अस्पतालका कर्मचारीहरूलाई आग्रह गर्नुभयो ।

“अस्पतालमा आउने बिरामीलाई मुस्कानसहित सेवा दिनुहोस्, यहाँ कोही पनि पावरमा होइन, आफ्नै अधिकारका आधारमा उपचारका लागि आउँछन्,” अध्यक्ष चौधरीले भन्नुभयो ।

बैठकमा अस्पतालमा जनशक्तिको अभाव, औषधि आपूर्तिमा देखिएका समस्या, अस्पताल सुरक्षा र बिरामीलाई छिटोछरितो सेवा उपलब्ध गराउने विषयमा गहन छलफल भएको थियो ।

अस्पतालका उपाध्यक्ष लक्ष्मी योगीले सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन सबै स्वास्थ्यकर्मी जिम्मेवार र संवेदनशील भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बिरामीले अस्पतालमा प्रवेश गर्ने बित्तिकै सहज र सहयोगी वातावरण अनुभव गर्नुपर्ने बताउनुभयो ।

बैठकमा अस्पताल संचालक समितिका सदस्य अजय न्यौपाने, चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले जनशक्ति अभाव र औषधि कमीका कारण सेवा प्रवाहमा चुनौती रहेको बताएका थिए ।

अस्पताल प्रशासन प्रमुख हरि खनालले बैठकको सहजीकरण गर्दै आवश्यक जनशक्ति र औषधि आपूर्तिका लागि सम्बन्धित निकायसँग चाँडै पहल गरिने जानकारी दिनुभयो । बैठकको अध्यक्षता अस्पताल संचालक समितिका अध्यक्ष जोगराज चौधरीले गर्नुभएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्