हेमनेत्र आँखा उपचार केन्द्रद्वारा सेवा सुरु

दाङ समाचार
दाङ समाचार २८ मंसिर २०८२, शनिबार
2 Min Read
Aa

दाङ – लमहीको नयाँ बजार क्षेत्रमा आधुनिक सुविधा सम्पन्न ‘हेमनेत्र आँखा उपचार केन्द्र’ औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

लामो समयदेखि आँखा उपचार तथा सेवा क्षेत्रमा अनुभव बटुलेका लालबहादुर चौधरीले अवकाश पश्चात पनि समुदायलाई निरन्तर सेवा गर्ने उद्देश्यले उक्त केन्द्र स्थापना गरेका हुन ।

आँखा स्वास्थ्य क्षेत्रमा ३१ वर्षको समृद्ध अनुभव बोकेका चौधरीले लमहीमा केन्द्र सञ्चालनमा ल्याएका हुन । उनले आफ्नो सेवायात्रा २०४८–०४९ सालमा गेटा आँखा अस्पतालबाट सुरु गरेका थिए । त्यसपछि २०४९ देखि २०६५ सालसम्म राप्ती आँखा अस्पताल, रक्षाचौरमा कार्यरत रहे भने २०६६ देखि २०८२ सालसम्म लमही आँखा अस्पतालमा निरन्तर सेवा प्रदान गरेका थिए ।

लामो अनुभव, जनविश्वास र सेवाप्रति रहेको समर्पण नै अवकाशपछि पनि समुदायसँगै रहने प्रेरणा बनेको चौधरीको भनाइ छ । उनले भने, “अवकाश भनेको सेवा रोक्नु होइन, अझ प्रभावकारी रूपमा जनतासँग जोडिन पाउने अवसर हो ।”

हेमनेत्र आँखा उपचार केन्द्रमा दैनिक रूपमा आँखा चेकजाँच, पावर परीक्षण, दृश्य क्षमता मूल्याङ्कन, आवश्यकताअनुसार पावर चस्मा, सामान्य चस्मा तथा सनग्लासको निर्माण तथा वितरण गरिनेछ । अत्याधुनिक उपकरणमार्फत सेवा प्रदान गरिने व्यवस्थापक चौधरीले जानकारी दिए । साथै, आवश्यक औषधि वितरण तथा प्राथमिक उपचार सेवा समेत केन्द्रमै उपलब्ध गराइएको छ ।

लमही क्षेत्रमा अत्याधुनिक उपकरणसहित आँखा उपचार सेवा दिने यो पहिलो निजी केन्द्र भएकाले स्थानीयवासीमा छुट्टै उत्साह थपिएको छ । यसअघि चस्मा बनाउन वा आँखाको विशेषज्ञ परीक्षण गराउन विभिन्न अस्पताल धाउनुपर्ने बाध्यता रहेकामा नयाँ केन्द्रले ठूलो सहजता मिलाउने अपेक्षा गरिएको छ ।

केन्द्रमा आँखा तथा चस्मासम्बन्धी सम्पूर्ण सेवा एकै स्थानमा उपलब्ध हुने भएकाले विद्यार्थी, ज्येष्ठ नागरिक, कामकाजी वर्ग तथा नियमित चस्मा प्रयोगकर्ताहरूका लागि विशेष सुविधा पुग्ने विश्वास गरिएको छ । सेवा, गुणस्तर र सहज पहुँचलाई प्राथमिकतामा राखी निरन्तर रूपमा समुदायको भरोसा जित्ने लक्ष्य रहेको चौधरीले बताए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्