दाङ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत लमही नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
निर्वाचन आयोगका अनुसार शुक्रबार लमहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण तथा व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यसहित उक्त कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ ।
निर्वाचन अधिकृतको कार्यालयमार्फत निर्वाचनसम्बन्धी सम्पूर्ण प्रशासनिक कार्य, उम्मेदवार दर्ता, निर्वाचन आचारसंहिता कार्यान्वयन, मतदान व्यवस्थापनलगायतका गतिविधिहरू सञ्चालन गरिने जनाइएको छ ।
कार्यालय स्थापना कार्यक्रममा निर्वाचन अधिकृत कृष्णप्रसाद नेपाल, लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४१ गण अर्जुन खोला लमहीका डिएसपी इश्वरीदत्त भट्ट, वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रोशनराज पाण्डे, लमही नगरपालिका–५ का वडा अध्यक्ष ओमप्रसाद सुवेदी, वडा नम्बर ८ का वडा अध्यक्ष उमेश कुमार खड्का, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाह लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण सहायक निर्वाचन अधिकृत लक्ष्मण भण्डारीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्