देशको विकास र निकासका लागि एक मात्र पार्टी नेपाली कांग्रेस – योगेन्द्र चौधरी

दाङ समाचार
दाङ समाचार ९ फाल्गुन २०८२, शनिबार
2 Min Read
Aa

दाङ – नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का उम्मेदवार एवं पार्टीका सहमहामन्त्री योगेन्द्र चौधरीले देशलाई विद्यमान संकटबाट मुक्ति दिन र विकासको गति अघि बढाउन सक्ने एकमात्र पार्टी नेपाली कांग्रेस भएको दाबी गर्नुभएको छ ।

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले आयोजना गरेका विभिन्न चुनावी सभाहरूलाई सम्बोधन गर्दै उम्मेदवार चौधरीले अहिले देश अत्यन्तै कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्नुभयो । उहाँले यो चुनौतीपूर्ण समयमा जनताले कांग्रेसलाई साथ दिनु पर्नेमा विशेष जोड दिनुभयो ।

पार्टीको पछिल्लो विशेष महाधिवेशनले कांग्रेसको आन्तरिक संरचना र कार्यशैलीमा व्यापक परिवर्तन ल्याएको चर्चा गर्दै चौधरीले भन्नुभयो, “विगतका कमी कमजोरीहरूलाई बिर्सिएर हामी अहिले सच्चिएर आएका छौं । ‘हामी बदल्छौँ कांग्रेस, बदल्छौँ देश’ भन्ने संकल्पका साथ हामी जनताको घरदैलोमा पुगेका छौं । कांग्रेसको यो नयाँ रूपरेखालाई आम नागरिकले मनन गर्नेमा हामी विश्वस्त छौं ।”

चुनावी अभियानका क्रममा उम्मेदवार चौधरीले पार्टी कार्यकर्ताहरूलाई संयमित रहन र उच्च राजनीतिक संस्कार प्रदर्शन गर्न कडा निर्देशन समेत दिनुभएको छ । उहाँले प्रचारप्रसारका क्रममा कुनै पनि राजनीतिक दल वा उम्मेदवारलाई लक्षित गरी गाली गलौज नगर्न, विवादमा नअल्झिन र प्रतिवाद वा प्रतिकारमा नउत्रन आग्रह गर्नुभयो ।

“कांग्रेस बीपी कोइरालाको विचार र सिद्धान्तलाई अंगालेर हिँडेको एउटा जिम्मेवार पार्टी हो,” चौधरीले भन्नुभयो, “हामीलाई झिना मसिना कुरामा अल्झिने छुट छैन । हाम्रो लक्ष्य केवल देशको समृद्धि र लोकतन्त्रको रक्षा हो ।”

नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री समेत रहनु भएका चौधरीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसलाई अत्यधिक मत दिएर विजयी गराउन दाङ क्षेत्र नम्बर १ लगायत देशभरका मतदाताहरूलाई हार्दिक आह्वान समेत गर्नुभएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्