दाङ – नेपाली कांग्रेसका सहमहामन्त्री तथा आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार योगेन्द्र चौधरीले दाङको विकासका लागि नेपाली कांग्रेसका प्रभावशाली नेता स्वर्गीय खुम बहादुर खड्काको अभाव महसुस हुन नदिने प्रण गरेको बताउनु भएको छ ।
लमही नगरपालिका वडा नम्बर ९ का रिहार, तेलिया र कोल्तरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै चौधरीले दाङ देउखुरी क्षेत्रमा आफूले गरेका कामहरूको निष्पक्ष मूल्यांकन गर्न आग्रह गर्नु भएको छ । “सर्वसाधारणको आँखामा छारो हाल्ने वा फट्याइँ गर्ने नेता म होइन । प्रभावशाली कांग्रेस नेता स्वर्गीय खुमबहादुर खड्का दाइको अभाव महसुस हुन नदिने प्रण गरेको छु । त्यसका लागि एक पटक जनताको साथ र विश्वास चाहिएको छ,” उहाँले भावुक हुँदै भन्नु भयो ।
घरदैलो तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उम्मेदवार चौधरीले चुनावी समयमा भोट माग्ने बहानामा गाउँगाउँमा विकासका आश्वासन बाँड्ने प्रवृत्तिबाट सचेत रहन मतदातालाई आग्रह गर्दै कसैले चुनावका बेला तपाईंको गाउँमा हामी विकास गर्छौं भनेर भ्रम फैलाएमा त्यसमा नअल्मलिनुहोस उहाँले भन्नु भयो । स्थानीय तथा प्रदेश सरकारको पहुँच पुग्न नसकेका विकट क्षेत्रहरूको विकास र विस्तारमा आफ्नो विशेष ध्यान रहने पनि उम्मेदवार चौधरीको भनाई छ ।
उहाँका अनुसार प्रतिनिधि सभा सदस्यको प्रमुख जिम्मेवारी कानून निर्माण गर्ने, सरकारलाई जवाफदेही बनाउने तथा जनताको आवाज संसदमा प्रभावकारी रूपमा उठाउने हो । सांसद देश र जनताको हितका लागि जिम्मेवार पद हो, जसले लोकतन्त्र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्छ । प्रत्यक्ष विकास निर्माणभन्दा पहिले नीति निर्माण र सुशासन स्थापना प्राथमिक कर्तव्य हो उम्मेदवार चौधरीले स्पष्ट पार्नु भयो ।
नेपाली कांग्रेसले यस पटक युवा उम्मेदवारलाई अघि सारेपछि मतदातामा उत्साह देखिएको छ । कार्यक्रममा अन्य दल त्याग गरी केही कार्यकर्ता पुनः कांग्रेसमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्