दाङ – लमही नगरपालिका ५ रातोडाँडामा रोकिएको ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन ।
मंगलबार बिहान करिब ४ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत बिग्रिएर सडक किनारमा रोकिएको ना ५ ख ९३३६ नम्बरको ट्रकको पछाडि लु १२ प ९८४० नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक लमही नगरपालिका ७ हसनापुर निवासी अन्दाजी ३७ वर्षीय जीवन गिरी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि लमही अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मोटरसाइकलमा सवार सोही स्थानका अन्दाजी ३२ वर्षीय धनिराम चौधरी गम्भीर घाइते भएका छन । उनको हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका अनुसार रोकिएको ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा संलग्न दुवै सवारी साधन पश्चिमतर्फ गइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्