दाङ – लमही नगरपालिका वडा नं. ९ अमिलियास्थित एक होटलबाट प्रहरीले सुन जस्तो देखिने पहेँलो धातुसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उनीहरूको साथबाट २ सय १४ ग्राम ५ सय मिलिग्राम पहेँलो धातु बरामद गरेको हो । उक्त बरामद धातुको हालको बजार मूल्य अन्दाजी बाउन्न लाख चौहत्तर हजार बराबर रहेको छ ।
पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका वडा नं. ७ सुनपथरी नाका बस्ने ४० वर्षीय रुपलाल गिरी (भारतबाट धातु नेपाल ल्याउने व्यक्ति) र रुकुम बाफिकोट गाउँपालिका वडा नं. ६ का २२ वर्षीय दिलिप परियार (धातु किन्ने व्यक्ति) रहेका छन् । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्