सशस्त्र प्रहरीको विद्यालयमा आर्थिक हिनामिना गरेको आरोपमा इन्स्पेक्टर र लेखा प्रमुख पक्राउ

दाङ समाचार
दाङ समाचार २१ असार २०८३, आईतवार
1 Min Read
Aa

दाङ – कीर्तिपुरस्थित सशस्त्र प्रहरीको विद्यालयमा भएको भनिएको आर्थिक अनियमितता सम्बन्धी प्रकरणमा विद्यालयमा कार्यरत दुई जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

पक्राउ पर्नेमा विद्यालयकी लेखा प्रमुख तथा इन्स्पेक्टर कल्पना गुरुङ र कर्मचारी लीला लामा रहेका छन् । उनीहरूलाई शनिबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार आइतबार (आज) अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिनेछ ।

प्रहरीका अनुसार सशस्त्र प्रहरी बल मुख्यालयले विद्यालयमा आर्थिक हिनामिनाको आशंका देखिएको भन्दै कानुनी कारबाही तथा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँलाई पत्राचार गरेको थियो । सोही आधारमा प्रहरी टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

अनुसन्धानका क्रममा विद्यालयको खातामा जम्मा हुनुपर्ने रकम व्यक्तिगत खातामा स्थानान्तरण गरी करोडौँ रुपैयाँ बराबरको रकम अनियमित रूपमा प्रयोग गरिएको आरोपमा अनुसन्धान केन्द्रित गरिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक छानबिनबाट लेखा प्रमुख गुरुङको भूमिका प्रमुख रहेको आशंका गरिएको छ । यसअघि सशस्त्र प्रहरी मुख्यालयले आन्तरिक छानबिन सञ्चालन गरेको र त्यसबाट संलग्नता देखिएको निष्कर्षपछि थप कानुनी अनुसन्धान तथा मुद्दा प्रक्रिया अघि बढाउन प्रहरीसमक्ष सिफारिस गरिएको बताइएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्