दाङ – दाङको देउखुरी क्षेत्रमा अजिङ्गरले बाख्रा बेरेर मारेपछि स्थानीयवासी त्रसित बनेका छन । सोमबार गढवा गाउँपालिका–७ शान्तिपुरस्थित चन्दनपुर सामुदायिक वन क्षेत्रमा बाख्रा चराइरहेको बेला करिब १३ फिट लामो र ३० किलोग्रामभन्दा बढी तौलको अजिङ्गरले बाख्रामाथि आक्रमण गरेको थियो ।
बाख्रालाई आक्रमण गरेको देखिपछि स्थानीयले वन कार्यालयलाई सूचना दिएका थिए । सूचना पाएपछि डिभिजन वन कार्यालय देउखुरीको टोली पत्रकार तथा वन्यजन्तु उद्धारकर्ता शिवु खनालको नेतृत्वमा घटनास्थल पुगेर अजिङ्गरलाई सकुशल उद्धार गरेको हो ।
अजिङ्गरको आक्रमणबाट स्थानीय सरिता बुढाथोकीको बाख्रा मरेको छ । वन क्षेत्र नजिक यस्ता वन्यजन्तु देखिन थालेपछि स्थानीयले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि प्रभावकारी पहल गर्न माग गरेका छन ।
डिभिजन वन कार्यालयका अनुसार अजिङ्गर विषालु नभएको तथा संरक्षित वन्यजन्तु भएकाले यसको संरक्षण आवश्यक छ । उद्धार गरिएको अजिङ्गरलाई प्राकृतिक बासस्थानमा सुरक्षित रूपमा छाडिएको छ ।
डिभिजनल वन अधिकृत गणेश खड्काका अनुसार देउखुरीमा सिमसार क्षेत्र, नदी, खोला, तालतलैया तथा उखुखेती प्रशस्त भएकाले अजिङ्गरका लागि उपयुक्त बासस्थान बनेको छ । पछिल्ला वर्षहरूमा लमही, गढवा, राजपुर र राप्ती क्षेत्रमा अजिङ्गर देखिने क्रम बढेको तथा देउखुरीबाट हालसम्म एक दर्जनभन्दा बढी अजिङ्गरको उद्धार गरी सुरक्षित रूपमा प्राकृतिक बासस्थानमा छाडिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्