दाङ – लमही नगरपालिकाले ‘जनतासँग उपमेयर कार्यक्रम’ अन्तर्गत अति विपन्न वर्गका बाल विकास केन्द्रमा अध्ययनरत बालबालिकालाई विद्यालय पोशाक वितरण गरेको छ । कार्यक्रमका लागि विनियोजित बजेटबाट वडा नम्बर ९ अन्तर्गत रहेका बगार बाबा माध्यमिक विद्यालय रिहारका २४ जना, माध्यमिक विद्यालय अमिलियाका ९ जना तथा प्राथमिक विद्यालय भ्युसनपुरका २६ जना गरी ५९ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले विभिन्न सामाजिक तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले विपन्न परिवारका बालबालिकालाई विद्यालयमा नियमित उपस्थित गराउन र अध्ययनप्रति थप उत्साहित बनाउन पोशाक वितरण गरिएको उल्लेख गर्नुभयो । बालबालिकाको शिक्षा, स्वास्थ्य र उज्ज्वल भविष्य निर्माणमा स्थानीय सरकार संवेदनशील रहेको बताउँदै उपप्रमुख योगीले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो । “शिक्षामा समान पहुँच सुनिश्चित गर्नु स्थानीय सरकारको दायित्व हो, आर्थिक अवस्था कमजोर भएकै कारण कुनै पनि बालबालिकाले अवसरबाट वञ्चित हुनु हुँदैन,” उहाँले भन्नुभयो।
कार्यक्रममा बगार बाबा माध्यमिक विद्यालय रिहारका प्रधानाध्यापक यमबहादुर बस्नेतले नगरपालिकाले विपन्न वर्गका विद्यार्थीको आवश्यकता पहिचान गरी पोशाक वितरण गर्नु सराहनीय कार्य भएको बताउनुभयो । उहाँले विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाका लागि यस्ता सहयोगले ठूलो राहत पुग्ने उल्लेख गर्दै स्थानीय सरकारले शिक्षा क्षेत्रमा देखाएको चासो प्रशंसनीय रहेको बताउनुभयो । यस्ता कार्यक्रमले विद्यार्थीमा विद्यालयप्रतिको आकर्षण बढ्नुका साथै अभिभावकलाई पनि सकारात्मक सन्देश जाने उहाँको भनाइ थियो ।
त्यसैगरी माध्यमिक विद्यालय अमिलियाका प्रधानाध्यापक गोपाल न्यौपानेले विपन्न परिवारका बालबालिकालाई लक्षित गरी गरिएको पोशाक वितरण कार्यक्रम उदाहरणीय रहेको बताउनुभयो। उहाँले नगरपालिकाले शिक्षा क्षेत्रमा गरेको लगानीले वास्तविक आवश्यकता भएका विद्यार्थीलाई प्रत्यक्ष लाभ पुगेको उल्लेख गर्दै यस्ता सहयोगात्मक कार्यक्रमले बालबालिकाको मनोबल बढाउने विश्वास व्यक्त गर्नुभयो। शिक्षाको गुणस्तर सुधारसँगै विद्यार्थीको आधारभूत आवश्यकतामा पनि ध्यान दिनु सकारात्मक पक्ष भएको उहाँले बताउनुभयो ।
प्राथमिक विद्यालय भ्युसनपुरका प्रधानाध्यापक ओमप्रकाश बस्नेतले स्थानीय सरकारले विद्यालय तहका विपन्न बालबालिकाको समस्यालाई नजिकबाट बुझेर सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले पोशाक प्राप्त गरेपछि बालबालिकामा देखिएको उत्साह र खुसीले कार्यक्रमको महत्व पुष्टि गरेको बताउँदै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन हुनुपर्ने धारणा राख्नुभयो ।
पालिकाले अति विपन्न बालबालिकालाई विद्यालय पोसाक वितरण गर्दै आएको छ । पोसाक प्राप्त गरेपछि बालबालिकाहरू निकै खुसी देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्