इश्वरीदेवी न्यौपानेद्वारा कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १८ आश्विन २०८३, आईतवार
2 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसकी पूर्व सचेतक तथा पूर्व राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति इश्वरीदेवी न्यौपानेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।

नेपाली कांग्रेसको संगठन निर्माण, लोकतान्त्रिक आन्दोलन तथा संसदीय राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएकी न्यौपानेले पार्टीलाई थप सशक्त, लोकप्रिय र जनतासँग जोडिएको संगठनका रूपमा विकास गर्ने प्रतिबद्धतासहित सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

न्यौपाने नेपाली कांग्रेसको केन्द्रीय सदस्यका रूपमा तीन पटक जिम्मेवारी सम्हालिसक्नुभएको छ । उहाँले पार्टीभित्रको संगठनात्मक जिम्मेवारीसँगै संसदीय भूमिकामा समेत महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुभएको छ । पूर्व सचेतक तथा राज्य व्यवस्था समितिको सभापतिको भूमिकामा रहँदा उहाँले संसद् र पार्टी संगठनमा सक्रिय भूमिका खेल्नुभएको थियो ।

उम्मेदवारी घोषणा गर्दै न्यौपानेले नेपाली कांग्रेसलाई अझ लोकप्रिय, सुदृढ र जनताको भरोसाको पार्टीका रूपमा स्थापित गर्न आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

“नेपाली कांग्रेसलाई लोकप्रिय पार्टी निर्माण गर्ने, संगठनलाई अझ मजबुत बनाउने र देशकै नम्बर एक पार्टीका रूपमा स्थापित गर्ने अभियानमा मेरो महत्वपूर्ण भूमिका रहनेछ । त्यसकारण मलाई मतदान गरेर यो अवसर प्रदान गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूमा हार्दिक अपिल गर्दछु,’ न्यौपानेले भन्नुभयो ।

उहाँले पार्टीको संगठनलाई गाउँदेखि केन्द्रसम्म थप व्यवस्थित र प्रभावकारी बनाउँदै नयाँ पुस्तालाई कांग्रेसको मूलधारमा जोड्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । पार्टीभित्रको एकता, संगठनको सुदृढीकरण, कार्यकर्ताको सम्मान तथा जनतासँगको सम्बन्धलाई थप बलियो बनाउँदै कांग्रेसलाई आगामी दिनमा थप प्रभावकारी राजनीतिक शक्तिका रूपमा स्थापित गर्न आफ्नो उम्मेदवारी केन्द्रित रहेको उहाँको भनाइ छ ।

लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय न्यौपानेको उम्मेदवारीलाई १५औँ महाधिवेशनमा महिला नेतृत्वको सशक्त प्रतिनिधित्वका रूपमा समेत हेरिएको छ । पार्टीको केन्द्रीय नेतृत्वमा महिलाको सहभागिता र भूमिकालाई थप प्रभावकारी बनाउने विषयलाई पनि उहाँले प्राथमिकतामा राख्नुभएको छ ।

१५औँ महाधिवेशनमा सहमहामन्त्री पदका लागि उम्मेदवारी घोषणा गर्दै न्यौपानेले आफ्नो राजनीतिक अनुभव, संगठन निर्माणमा हासिल गरेको अनुभव र पार्टीप्रतिको निरन्तर योगदानलाई आगामी कार्यकालमा अझ प्रभावकारी रूपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्