कांग्रेस नारामा होइन, जनताको मन जित्ने काममा केन्द्रित हुनुपर्छ – दाङ–१ (क) का सभापति पौडेल

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २२ आश्विन २०८३, बिहीबार
13 Min Read
Aa

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र नम्बर १ को अधिवेशन सम्पन्न भएको छ । केन्द्रको आज मतदान हुँदै छ भने जिल्ला र प्रदेश अधिवेशन हुन् बाँकी नै छ । क्षेत्र नम्बर १ अन्तर्गत ३७ वटा वडा रहेका छन् । राप्ती गाउँपालिकाका ९, गढवा गाउँपालिकाका ८ तथा राजपुर गाउँपालिकाका वडा नम्बर १, २ र ३ गरी २० वटा वडा दाङ–१ (क) प्रदेशसभा क्षेत्रअन्तर्गत पर्छन् । त्यस्तै राजपुर गाउँपालिकाका वडा नम्बर ४, ५, ६ र ७, लमही नगरपालिकाका ९ वटा वडा तथा घोराही उपमहानगरपालिकाका वडा नम्बर १, २, ३ र ५ दाङ–१ (ख) अन्तर्गत पर्दछन् ।

लामो समय नेपाल तरुण दलको कार्यकारी भूमिकामा रहेर जिम्मेवारी निर्वाह गर्नुभएका, नेपाली कांग्रेसका प्रभावशाली नेता स्वर्गीय खुमबहादुर खड्कानिकट मानिएका तथा युवामाझ लोकप्रिय, निडर, स्पष्ट वक्ता र हक्की स्वभावका युवा नेता किरण पौडेल दाङ–१ (क) प्रदेशसभा क्षेत्रको सभापतिमा निर्वाचित हुनुभएको छ । नयाँ जिम्मेवारीपछि कांग्रेसको संगठन निर्माण, युवा सहभागिता, जनतासँगको सम्बन्ध, आगामी निर्वाचन र उम्मेदवार छनोटलगायत विषयमा सभापति पौडेल र पत्रकार प्रिया स्मृती गजमेर बीच भएको कुराकानी :

सभापति ज्यु, तपाईंको नेतृत्वमा अबको कांग्रेस कस्तो हुन्छ ?

सर्वप्रथम मलाई विश्वास गरेर यो जिम्मेवारी प्रदान गर्नुहुने सम्पूर्ण महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, वडा तहका साथीहरू तथा शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । यो जिम्मेवारी मेरा लागि पदभन्दा पनि ठूलो राजनीतिक दायित्व हो । अब मेरो प्राथमिकता दाङ–१ (क) मा नेपाली कांग्रेसलाई व्यवस्थित, सक्रिय, जनतासँग जोडिएको र बलियो संगठनका रूपमा स्थापित गर्नु हुनेछ । कांग्रेसलाई निर्वाचनको समयमा सक्रिय हुने पार्टी होइन, वर्षभरि जनताका सुख–दुःखमा साथ दिने संगठन बनाउनुपर्छ भन्ने मेरो मान्यता छ । वडा तहदेखि नै संगठनलाई मजबुत बनाउँदै युवाहरू, महिला, दलित, आदिवासी जनजाति तथा सबै समुदायको सहभागिता सुनिश्चित गर्नुपर्छ । हामीले कार्यकर्तालाई सम्मान गर्ने, जनताको कुरा सुन्ने र त्यसलाई राजनीतिक मुद्दाका रूपमा उठाउने संस्कार विकास गर्नुपर्छ । मेरो कार्यकालमा कांग्रेसभित्र अनुशासन, एकता, सक्रियता र जनसम्बन्धलाई विशेष प्राथमिकता दिइनेछ ।

कांग्रेस बलियो बनाउन तपाईंको मुख्य भूमिका के हुनेछ ? संगठन निर्माणका लागि तपाईंको योजना के छ ?

कांग्रेस बलियो बन्ने आधार केन्द्रमा होइन, वडा तहमा हो । त्यसैले मेरो पहिलो प्राथमिकता वडा तहको संगठनलाई सक्रिय र व्यवस्थित बनाउनु हुनेछ । प्रत्येक वडामा नियमित बैठक, कार्यकर्ता भेटघाट, जनसम्पर्क र स्थानीय समस्याको पहिचान गर्ने अभ्यास सुरु गर्नुपर्छ । अहिले कतिपय ठाउँमा पार्टी र कार्यकर्ताबीच दूरी बढेको महसुस भएको छ । त्यो दूरी घटाउन नेतृत्व स्वयं कार्यकर्ताको घरदैलोमा पुग्नुपर्छ । संगठन भनेको चुनाव आउँदा मात्र खोजिने मानिसहरूको समूह रैछ भन्ने आम कार्यकर्ताको बुझाई छ तर त्यसलाई चिरेर अगाडी बढ्नु पर्ने छ । संगठन निरन्तर जनतामाझ रहने संरचना हो । त्यसैले हामीले स्थानीय तहका जनप्रतिनिधि, पार्टीका नेता–कार्यकर्ता र आम नागरिकबीच समन्वय बढाउनेछौँ । युवालाई जिम्मेवारी दिने, नयाँ नेतृत्व उत्पादन गर्ने र पुराना अनुभवी साथीहरूको ज्ञान तथा अनुभवलाई उपयोग गर्नेछौँ । संगठन विस्तारसँगै प्रशिक्षण, राजनीतिक शिक्षा र सामाजिक अभियानलाई पनि प्राथमिकता दिनेछौँ । मेरो भूमिका आदेश दिनेभन्दा पनि साथीहरूलाई जोड्ने र संगठनलाई चलायमान बनाउने हुनेछ ।

कांग्रेसप्रति ‘नारा धेरै, काम कम’ भन्ने आलोचना पनि सुनिन्छ । अब कांग्रेसले जनताको मन जित्ने गरी कसरी काम गर्नुपर्छ ?

जनताको मन भाषणले होइन व्यवहार र कामले जितिन्छ । कांग्रेसले अब नारामात्रै लगाएर हुँदैन । जनताको घरमा के समस्या छ, किसानले के भोगिरहेको छ, युवाले रोजगारी किन पाउन सकेका छैनन्, विद्यार्थीका समस्या के छन्, स्वास्थ्य र शिक्षाको अवस्था कस्तो छ भन्ने विषयमा कांग्रेसले प्रत्यक्ष चासो राख्नुपर्छ । हामीले जनताको समस्या सुन्ने र सम्बन्धित निकायमा समाधानका लागि पहल गर्ने संस्कार विकास गर्नुपर्छ । सानो समस्या होस् वा ठूलो, जनताले आफ्नो समस्या लिएर कांग्रेसको स्थानीय संगठनमा आउँदा ‘यो हाम्रो विषय होइन’ भन्ने अवस्था हुनुहुँदैन । पार्टीका नेता–कार्यकर्ता जनताको सहयोगी बन्नुपर्छ । हामी सरकारमा हुँदा विकास र सेवा प्रवाहमा राम्रो काम गर्न दबाब दिन्छौँ, प्रतिपक्षमा हुँदा पनि जनताको आवाज उठाउँछौँ । कांग्रेसको वास्तविक शक्ति चुनावको मतमा मात्र होइन, जनताको विश्वासमा हुन्छ । त्यसैले जनताको विश्वास जित्ने काम नै अबको कांग्रेसको मूल एजेन्डा हुनुपर्छ ।

तपाईं लामो समय तरुण दलको कार्यकारी भूमिकामा रहनुभयो । युवाहरूलाई कांग्रेसको मूल नेतृत्वमा कसरी जोड्नुहुन्छ ?

युवाहरू कांग्रेसका भविष्य मात्र नभएर वर्तमान पनि हुन् । युवालाई ‘भोलि नेतृत्व गर्छौ’ भनेर मात्र पन्छाउने समय अब सकिएको छ । युवाले आजै जिम्मेवारी पाउनुपर्छ, निर्णय प्रक्रियामा सहभागी हुनुपर्छ र संगठन सञ्चालनमा आफ्नो क्षमता देखाउने अवसर पाउनुपर्छ । मैले तरुण दलमा काम गर्दा युवाहरूमा ठूलो ऊर्जा, क्षमता र राजनीतिक चेतना देखेको छु । तर अवसरको अभावले कतिपय युवा राजनीतिबाट निराश पनि छन् । त्यसलाई परिवर्तन गर्नुपर्छ । पार्टीभित्र युवालाई सभा, जुलुस र सामाजिक सञ्जालमा प्रयोग गर्ने होइन, वडा, पालिका, प्रदेशसभा क्षेत्रदेखि माथिल्लो तहसम्म नेतृत्व विकासको अवसर दिनुपर्छ । नयाँ पुस्तालाई प्रविधि, नीति, सञ्चार र संगठन सञ्चालनसँग जोडेर प्रशिक्षण दिनुपर्छ । अनुभवी पुस्ताको मार्गदर्शन र युवाको ऊर्जा मिल्यो भने कांग्रेस अझ बलियो हुन्छ । मेरो नेतृत्वमा युवालाई सम्मानजनक जिम्मेवारी र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने प्रयास हुनेछ ।

आगामी निर्वाचनमा उम्मेदवार छनोट गर्दा शक्ति, पैसा र पहुँच भएकालाई नै प्राथमिकता दिने कि जनतामा लोकप्रिय व्यक्तिलाई ?

मेरो स्पष्ट धारणा छ- उम्मेदवार छनोटमा पैसा र पहुँच निर्णायक बन्नु हुँदैन । चुनावमा खर्च गर्न सक्ने क्षमता एउटा पक्ष हुन सक्छ, तर त्यो मात्रै उम्मेदवार बन्ने योग्यता होइन । जनताबीच कस्तो छवि छ, संगठनमा कति योगदान गरेको छ, जनताका समस्या कत्तिको बुझेको छ, इमानदारी कस्तो छ, राजनीतिक दृष्टिकोण के छ र जितिसकेपछि जनताको प्रतिनिधिका रूपमा कस्तो भूमिका खेल्न सक्छ भन्ने कुरा मुख्य हुनुपर्छ । हामीले विगतका कमजोरीबाट पाठ सिक्नुपर्छ । एउटै व्यक्तिलाई पटक–पटक अवसर दिने तर नयाँ पुस्तालाई अवसर नदिने प्रवृत्तिले संगठन कमजोर हुन्छ । आगामी निर्वाचनमा पार्टीले जित्न सक्ने मात्र होइन, जनताले सम्मान गर्ने उम्मेदवार खोज्नुपर्छ । टिकट वितरण पारदर्शी, न्यायपूर्ण र संगठन तथा जनताको भावनासँग जोडिएको हुनुपर्छ । शक्ति, पैसा र पहुँचका आधारमा मात्रै टिकट बाँडियो भने कांग्रेसले जनताको विश्वास गुमाउन सक्छ । त्यसैले योग्य, लोकप्रिय, इमानदार र जनतासँग जोडिएका व्यक्तिलाई प्राथमिकता दिनुपर्छ ।

तपाईं स्वर्गीय खुमबहादुर खड्कानिकट नेताका रूपमा पनि चिनिनुहुन्छ । उहाँको राजनीतिक विरासतबाट तपाईंले के सिक्नुभएको छ ?

स्वर्गीय खुमबहादुर खड्का दाङको मात्र होइन, नेपाली कांग्रेसकै प्रभावशाली नेता हुनुहुन्थ्यो । उहाँको राजनीतिक जीवनबाट मैले धेरै कुरा सिक्ने अवसर पाएको छु । विशेषगरी कार्यकर्तासँगको सम्बन्ध, संगठनप्रतिको प्रतिबद्धता र कठिन परिस्थितिमा पनि आफ्नो राजनीतिक अडान कायम राख्ने उहाँको शैली महत्वपूर्ण थियो । उहाँ कार्यकर्तालाई चुनावको समयमा सम्झिने नेता हुनुहुन्नथ्यो । कार्यकर्ताको सुख–दुःखमा साथ दिने र संगठनलाई बलियो बनाउन निरन्तर लाग्ने उहाँको शैली प्रेरणादायी थियो । तर समय परिवर्तन भएको छ । अहिलेको पुस्ताको राजनीतिक सोच, प्रविधि, सामाजिक संरचना र जनताको अपेक्षा फरक छ । त्यसैले उहाँको विरासतलाई जस्ताको तस्तै दोहोर्‍याउनेभन्दा उहाँले सिकाउनुभएको संगठनप्रतिको प्रतिबद्धता, कार्यकर्ताप्रतिको सम्मान र जनतासँगको सम्बन्धलाई नयाँ पुस्ताको आवश्यकता र आधुनिक राजनीतिक शैलीसँग जोडेर अघि बढाउनुपर्छ । उहाँको नाम लिदै उहाँको राजनीतिक संस्कारबाट सिकेर काम गर्नु महत्वपूर्ण हुन्छ भन्ने मलाई लाग्दछ ।

महाधिवेशनमा प्रतिस्पर्धा हुन्छ, त्यसपछि गुट–उपगुटको दूरी रहन सक्छ । तपाईंलाई समर्थन नगर्ने नेता–कार्यकर्तालाई कसरी समेट्नुहुन्छ ?

निर्वाचन एउटा लोकतान्त्रिक प्रक्रिया हो । निर्वाचनको समयमा को कसको पक्षमा उभियो भन्ने कुरा स्वाभाविक हो । तर परिणाम घोषणा भएपछि हामी सबै एउटै संगठनका सदस्य हौँ । मेरो दृष्टिमा सभापति भनेको आफूलाई मतदान गर्नेहरूको मात्र सभापति होइन, सबै कांग्रेस कार्यकर्ताको सभापति हो । त्यसैले मलाई समर्थन गर्ने र नगर्ने भन्ने आधारमा व्यवहार गर्ने मेरो सोच छैन । चुनाव सकिएपछि प्रतिस्पर्धा सकिनुपर्छ र संगठन निर्माणको अभियान सुरु हुनुपर्छ । कुनै साथीले मेरो आलोचना गर्नुभयो भने त्यसलाई पनि सकारात्मक रूपमा लिन्छु । आलोचनाले नेतृत्वलाई सचेत बनाउँछ । म सबै पक्षका साथीहरूसँग संवाद गर्नेछु, उहाँहरूको सुझाव सुन्नेछु र संगठनमा उहाँहरूको भूमिकालाई सम्मान गर्नेछु । कांग्रेसलाई बलियो बनाउन व्यक्तिगत गुटभन्दा माथि उठ्नुपर्छ । हामीबीच विचारमा मतभेद हुन सक्छ, तर संगठन र लोकतन्त्रप्रतिको प्रतिबद्धतामा एक हुन सक्छौँ । यही भावनाका साथ दाङ–१ (क) मा कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउने मेरो प्रयास हुनेछ ।

दाङ–१ (क) मा २० वटा वडा छन् । भौगोलिक तथा सामाजिक विविधता रहेको यस क्षेत्रमा संगठन विस्तारको चुनौतीलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?

दाङ–१ (क) मा राप्ती गाउँपालिकाका ९, गढवा गाउँपालिकाका ८ तथा राजपुर गाउँपालिकाका वडा नम्बर १, २ र ३ गरी २० वटा वडा छन् । यी सबै ठाउँको सामाजिक, आर्थिक र भौगोलिक अवस्था एउटै छैन । त्यसैले सबै ठाउँमा एउटै कार्यक्रम लागू गरेर संगठन बलियो बनाउन सकिँदैन । स्थानीय आवश्यकता र परिस्थितिअनुसार संगठनको कार्यक्रम बनाउनुपर्छ । मेरो योजना प्रत्येक वडासँग नियमित सम्पर्क कायम गर्ने, वडा तहका समस्या सुन्ने र संगठनको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने हो । दुर्गम तथा ग्रामीण क्षेत्रका कार्यकर्तालाई पनि केन्द्रमा ल्याउनुपर्छ । पार्टीको कार्यक्रम केही सीमित स्थानमा मात्र केन्द्रित हुनु हुँदैन । प्रत्येक वडा कांग्रेसको गतिविधिको केन्द्र बन्नुपर्छ । किसान, मजदुर, युवा, महिला, विद्यार्थी र विभिन्न समुदायसँग सम्बन्धित कार्यक्रम स्थानीय तहमा सञ्चालन गर्नुपर्छ । संगठनमा निष्क्रियता देखिएको ठाउँमा विशेष अभियान चलाइनेछ । नेतृत्वले कार्यालयमा बसेर निर्देशन दिनेभन्दा गाउँ–गाउँमा पुगेर कार्यकर्तासँगै काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।

जनताको समस्या र कांग्रेसको संगठनबीच कस्तो सम्बन्ध स्थापित गर्न चाहनुहुन्छ ?

पार्टी संगठनको अन्तिम उद्देश्य जनताको सेवा र लोकतान्त्रिक मूल्यको संरक्षण हो । त्यसैले संगठन जनताको समस्यासँग जोडिएन भने त्यसको अर्थ रहँदैन । दाङ–१ (क) का जनताको समस्या पहिचान गरेर त्यसलाई राजनीतिक एजेन्डा बनाउने मेरो प्रयास हुनेछ । शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, सडक, खानेपानी, सिँचाइ, युवा पलायनलगायत विषयमा स्थानीय नागरिकसँग प्रत्यक्ष छलफल गर्नुपर्छ । कुनै समस्या समाधान गर्न स्थानीय सरकार जिम्मेवार छ भने कांग्रेसले आवश्यक दबाब र सहकार्य गर्नुपर्छ । प्रदेश वा संघीय सरकारसँग सम्बन्धित विषय छन् भने सम्बन्धित तहसम्म आवाज पुर्‍याउनुपर्छ । हामीले जनताको समस्या सुनेर मात्र हुँदैन, समाधानका लागि निरन्तर पहल पनि गर्नुपर्छ । पार्टीका कार्यकर्ताले नागरिकलाई सहयोग गर्ने वातावरण बनाउनुपर्छ । यसो गर्दा कांग्रेस र जनताबीचको सम्बन्ध चुनावी समयमा मात्र होइन, निरन्तर रहन्छ । जनताले ‘कांग्रेस हाम्रो समस्या बुझ्ने र समाधानका लागि बोल्ने पार्टी हो’ भन्ने अनुभूति गर्न सक्नुपर्छ । यही सम्बन्धले कांग्रेसलाई दीर्घकालीन रूपमा बलियो बनाउँछ ।

अन्त्यमा, तपाईंको कार्यकाललाई पाँच वर्षपछि कार्यकर्ताले कसरी सम्झून् भन्ने चाहनुहुन्छ ? तपाईंका ठोस लक्ष्य के हुन् ?

म पदमा बसेर के पाएँ भन्नेभन्दा जिम्मेवारीमा रहेर संगठनका लागि के गर्न सकेँ भन्ने मूल्यांकन चाहन्छु । पाँच वर्षपछि कार्यकर्ताले ‘किरण पौडेलको नेतृत्वमा संगठन चलायमान भयो, युवाले अवसर पाए, सबै पक्षलाई सम्मान भयो र कांग्रेस जनतासँग जोडियो’ भनेर सम्झिए पुग्छ । मेरो मुख्य लक्ष्य वडा तहको संगठनलाई सक्रिय बनाउने, नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने, पुराना तथा अनुभवी साथीहरूको सम्मान गर्ने र पार्टीभित्र आन्तरिक एकता कायम गर्ने हो । त्यस्तै आगामी निर्वाचनलाई केन्द्रमा राखेर अहिलेबाटै संगठन निर्माण र जनसम्पर्क विस्तार गर्नुपर्छ । टिकट पाउने व्यक्तिभन्दा संगठन जित्ने वातावरण बनाउनु मेरो प्राथमिकता हुनेछ । कांग्रेसभित्र अनुशासन, पारदर्शिता र जवाफदेहिता आवश्यक छ । म सबै साथीहरूलाई साथमा लिएर अघि बढ्न चाहन्छु । मेरो कार्यकालको सफलता कुनै एउटा व्यक्तिको सफलतामा होइन, दाङ–१ (क) को समग्र कांग्रेस संगठन कति बलियो, व्यवस्थित र जनमुखी बन्न सक्यो भन्ने कुरामा निर्भर हुनेछ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्