दाङ – ‘आफ्नो आँखालाई माया गरौँ’ भन्ने मुख्य नारासहित नेपाल नेत्रज्योति संघ दाङले विश्व दृष्टि २०८३ अन्तर्गत ‘आँखा स्वास्थ्य सेवाको पहुँच विस्तारमा सञ्चारकर्मीहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम लमही आँखा अस्पतालमा सम्पन्न गरेको छ ।
आँखा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, आँखाको नियमित परीक्षण तथा उपचारको महत्वबारे आम नागरिकलाई जानकारी गराउने र आँखा स्वास्थ्य सेवाको पहुँच विस्तारमा सञ्चार क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा लमही आँखा अस्पतालका प्रमुख नेत्र विशेषज्ञ प्राध्यापक डा. प्रदीप बास्तोलाले कार्यक्रमको उद्देश्य तथा आँखा स्वास्थ्यको वर्तमान अवस्था, आँखासम्बन्धी समस्या र समयमै उपचार तथा परीक्षण गराउनुपर्ने आवश्यकताबारे प्रकाश पार्नुभएको थियो ।
डा. बास्तोलाले आँखामा देखिने सामान्यदेखि जटिल समस्यालाई समयमै पहिचान गर्न सके दृष्टि गुम्ने जोखिमलाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिने बताउनुभएको थियो । उहाँले आँखा स्वास्थ्यसम्बन्धी जानकारी गाउँ–गाउँसम्म पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । विशेषगरी ग्रामीण तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई नियमित आँखा परीक्षण, उपचार र आवश्यक सावधानीका विषयमा सचेत गराउन सञ्चार क्षेत्रले निरन्तर सूचना प्रवाह गर्नुपर्ने उहाँको भनाइ थियो ।
अन्तरक्रिया कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले लमही आँखा अस्पतालबाट प्रदान हुँदै आएका सेवा, अस्पतालको सेवा विस्तार, ग्रामीण क्षेत्रमा आँखा स्वास्थ्य सेवाको पहुँच, जनशक्ति तथा पूर्वाधार, उपचारका क्रममा देखिएका समस्या र आगामी दिनमा अस्पतालले लिनुपर्ने प्राथमिकताका विषयमा जिज्ञासा तथा सुझाव राख्नु भएको थियो ।
कार्यक्रममा पत्रकार केपी घिमिरे, दशरथ घिमिरे, दुःखहरण यादव, सन्तोषकुमार गुप्ता, छविलाल कोपिला, राधेश्याम गुप्ता लगायत सञ्चारकर्मीहरूले आँखा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक सामग्रीलाई प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गर्नुपर्नेमा जोड दिनु भएको थियो ।
सञ्चारकर्मीहरूले आँखा स्वास्थ्यसम्बन्धी कार्यक्रम, उपचार सेवा, निःशुल्क तथा सहुलियतपूर्ण सेवाका विषयमा आम नागरिकलाई नियमित जानकारी गराउन सके अस्पतालसम्म सेवा लिन आउने नागरिकको संख्या बढ्नुका साथै समयमै उपचार गराउने वातावरण निर्माण हुने बताउदै आँखाको समस्यालाई सामान्य रूपमा लिने प्रवृत्ति हटाउन र नियमित आँखा परीक्षणको संस्कार विकास गर्न सञ्चारमाध्यममार्फत व्यापक जनचेतना फैलाउनुपर्ने सुझाव दिनु भएको थियो ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक डा. सम्शेर थापाले आँखा स्वास्थ्य सेवाको अवस्था, सेवा विस्तार तथा नागरिकसम्म सेवा पुर्याउने विषयमा धारणा राख्नुभएको थियो । उहाँले आँखा स्वास्थ्यलाई केवल अस्पतालमा सीमित नराखी समुदायस्तरसम्म पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले आँखा स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिका लागि स्वास्थ्य संस्था, स्थानीय तह, सञ्चारमाध्यम तथा समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । आँखासम्बन्धी समस्या देखिएपछि मात्र अस्पताल जानेभन्दा नियमित परीक्षण गर्ने बानीको विकास गर्न सके धेरै प्रकारका दृष्टिसम्बन्धी समस्या समयमै पहिचान र उपचार गर्न सकिने उहाँको भनाइ थियो ।
अन्तरक्रियाका सहभागीहरूले विश्व दृष्टि २०८३ को अवसरमा ‘आफ्नो आँखालाई माया गरौँ’ भन्ने सन्देशलाई घरघरमा पुर्याउन सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए । उनीहरूले आँखा स्वास्थ्यसम्बन्धी समाचार, सूचना तथा जनचेतनामूलक सामग्रीलाई निरन्तर प्राथमिकता दिँदै नागरिकलाई समयमै उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।
नेपाल नेत्रज्योति संघ दाङका उपसभापति रेशमबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा संघका जिल्ला सचिव घनश्याम सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन लमही आँखा अस्पतालका व्यवस्थापक शशी लामिछानेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्