गोरखा मोडेल स्कुलको दसैं मिलन भलिबल प्रतियोगिता सुरु, ६ टोली सहभागी

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २५ आश्विन २०८३, आईतवार
1 Min Read
Aa

दाङ – गोरखा मोडेल स्कुलको आयोजनामा दसैं मिलन चौथो भलिबल खेलकुद प्रतियोगिता आजदेखि सुरु भएको छ । असोज २५ र २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ टोलीले सहभागिता जनाएका छन् ।

देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वर प्रकाश श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुद स्वास्थ्यका लागि मात्र नभई आपसी भाइचारा, सद्भाव र एकता कायम गर्नसमेत महत्त्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा देउखुरी उद्योग वाणिज्य संघका महासचिव सुदीप पाण्डे, देउखुरी वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सारदा सुवेदी, सदस्य एलिजा गुरुङको पनि उपस्थिति रहेको थियो ।

विद्यालयका खेलकुद शिक्षक झलक सिंह रसाइलीका अनुसार प्रतियोगितामा देउखुरी उद्योग वाणिज्य संघ, बाघनाथ भलिबल ट्रेनिङ सेन्टर, गैरे मोबाइल, होटल सस्तो लमही, गोरखा मोडेल स्कुल र लमही नगरपालिकाको टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई एउटा बोका र दोस्रो हुने टोलीलाई पाँचवटा स्थानीय जातका भाले उपहार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा रेफ्रीको भूमिका दीपेन्द्र खड्का र ललित डाँगीले निर्वाह गर्नेछन् ।

कार्यक्रममा गोरखा ग्रुपका एचआर डाइरेक्टर उत्तम घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो भने विद्यालयका प्राचार्य लोकमान रिजालले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

दसैंको अवसरमा आयोजित प्रतियोगिताले खेलकुदको विकाससँगै विभिन्न संघसंस्था तथा समुदायबीच आपसी सम्बन्ध, सहकार्य र सद्भाव अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्