दाङ – शिक्षा क्षेत्रमा २७ वर्षको लामो अनुभव बटुलेर राजनीति तथा समाजसेवामा समर्पित नाम हो, मनोज कुमार चौधरी । व्यवस्थापन संकायमा स्नातक उत्तीर्ण चौधरी सरल र इमानदार व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । उहाँले लामो समय शिक्षा क्षेत्रमा काम गर्दै हासिल गरेको अनुभवलाई अहिले जनप्रतिनिधिका रूपमा जनसेवामा उपयोग गरिरहनुभएको छ ।
युवावस्थामै जिम्मेवारी सम्हाल्नुभएका चौधरीले करिब २०४६/४७ सालतिर दाङको देउखुरीस्थित कौडिया सिँचाइ आयोजनामा सुपरभाइजर पदमा एक वर्ष सेवा गर्नुभएको थियो । त्यसपछि उहाँ साविकको चैलाही हालको लमही नगरपालिका–३ स्थित बाल जनता माध्यमिक विद्यालय वनगाउँमा लेखापालका रूपमा नियुक्त हुनुभयो । करिब चार वर्ष सेवा गरेपछि विद्यालय व्यवस्थापन समितिले आन्तरिक विज्ञापनमार्फत उहाँलाई लेखापाल पदमा स्थायी नियुक्त गरेको थियो । त्यतिबेला उहाँ २२ वर्षको हुनुहुन्थ्यो ।
विद्यालयमा कार्यरत रहँदा चौधरीले प्राथमिक शिक्षक तालिम कार्यक्रमको लेखा प्रमुखका रूपमा समेत जिम्मेवारी निर्वाह गर्नुभयो । त्यसैगरी २०७५ देखि २०७९ सम्म सोही विद्यालयमा सञ्चालित तीनवर्षे डिप्लोमा आईएस्सी एजी कार्यक्रमको लेखा प्रमुख भएर पनि काम गर्नुभयो ।
शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नेपाल सरकार, शिक्षा विभागले अन्तर्राष्ट्रिय शिक्षा दिवसका अवसरमा २०६९ सालमा उहाँलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरेको थियो । उक्त पुरस्कार नेपालभरबाट एक जनालाई प्रदान गरिएको थियो ।
नेपाली कांग्रेसको राजनीतिक पृष्ठभूमि भएका चौधरी नेपाल विद्यार्थी संघ, दाङको जिल्ला सदस्यसमेत हुनुभएको थियो । त्यसैगरी, नेपाली कांग्रेस लमही नगरपालिका–३ को वडा सचिवका रूपमा पनि उहाँले पार्टीको जिम्मेवारी निर्वाह गर्नुभयो । २०४९ सालमा सम्पन्न स्थानीय निर्वाचनका क्रममा उहाँ साविक चैलाही गाउँ विकास समितिको युवा परिचालन तथा प्रचारप्रसार समितिको संयोजक हुनुहुन्थ्यो ।
२०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले उहाँलाई लमही नगरपालिका–३ को वडा अध्यक्ष पदको टिकट दिएपछि चौधरीले बाल जनता माध्यमिक विद्यालयको लेखापाल पदबाट राजीनामा दिएर निर्वाचनमा होमिने निर्णय गर्नुभयो । फलस्वरूप उहाँ उक्त निर्वाचनमा लोकप्रिय मतसहित विजयी हुनुभयो । उहाँसँगै नेपाली कांग्रेसका सबै वडा सदस्यसमेत निर्वाचित भएका थिए ।
‘शिक्षामा काम गर्न पाउँदा साँच्चिकै गर्व लाग्छ’
लमही नगरपालिका–३ भित्र बाल जनता माध्यमिक विद्यालय वनगाउँ, माध्यमिक विद्यालय फल्कापुर, बाल जनता आधारभूत विद्यालय वनगाउँ, बाल तारा आधारभूत विद्यालय मजगाउँ र शिशु स्याहार केन्द्र टिकुलीगढ गरी पाँचवटा सामुदायिक शैक्षिक संस्था रहेका छन् ।
यी शैक्षिक संस्थाको गुणस्तर सुधारका लागि वडा कार्यालयदेखि नगरपालिका तहसम्मबाट शिक्षा क्षेत्रमा लगानी हुँदै आएको छ । भौतिक पूर्वाधार निर्माण, प्राविधिक तथा खेलकुद सामग्री खरिद र अध्ययन–अवलोकनलगायतका गतिविधिका लागि वडा कार्यालयले वर्षेनी लाखौँ रुपैयाँ विनियोजन गर्दै आएको वडा अध्यक्ष मनोज कुमार चौधरी बताउनुहुन्छ ।
‘म आफैँ पनि लामो समय शिक्षण संस्थासँग जोडिएको हुनाले शिक्षामा केही नयाँ र फरक गरौँ भन्ने लाग्छ,’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार वडाभित्र रहेका सबै विद्यालयमा शिक्षक दरबन्दी स्थायी तथा अस्थायी दुवै प्रक्रियाबाट व्यवस्थापन गरिएको छ । समयअनुसार पठनपाठनको रूपरेखा परिमार्जन गर्दै लैजानुपर्ने उहाँको धारणा छ । यसका लागि आफू र शिक्षकहरूबीच विभिन्न योजना बनाइएको उहाँ बताउनुहुन्छ । ती योजनामध्ये केही कार्यान्वयन भइसकेका छन् भने केही कार्यान्वयनको चरणमा छन् ।
सामुदायिक विद्यालयको पठनपाठन राम्रो नभएको भन्दै विभिन्न प्रकारका भ्रामक सूचना सार्वजनिक हुने गरेको उल्लेख गर्दै चौधरीले पालिकास्तरीय परीक्षामा सामुदायिक विद्यालयले राम्रो नतिजा हासिल गरेका थुप्रै उदाहरण रहेको बताउनुभयो । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पनि विद्यार्थीहरू राम्रो नतिजासहित उत्तीर्ण हुँदै आएको उहाँको भनाइ छ ।
विद्यार्थी सङ्ख्याका हिसाबले समेत वडा नम्बर ३ भित्रका सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति सन्तोषजनक रहेको उहाँ बताउनुहुन्छ।
शिक्षा क्षेत्रमा लामो समय बिताउनुभएका चौधरी अहिले जनप्रतिनिधिका रूपमा आफ्नो वडाको शैक्षिक गुणस्तर सुधारमा जोड दिइरहनुभएको छ। विद्यालयको व्यवस्थापन, शिक्षक दरबन्दी, भौतिक पूर्वाधार तथा पठनपाठनको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै उहाँले शिक्षा क्षेत्रको अनुभवलाई स्थानीय विकाससँग जोडेर अघि बढाउने प्रयास गरिरहनुभएको छ।

प्रतिक्रिया दिनुहोस्