दाङ– राजपुर गाउँपालिका -२ बेलाको खाल गैरा खेल मैदानमा आफ्नै छिमेकीमाथि पेट्रोल खन्याएर आगो लगाई गम्भीर घाइते बनाएको आरोपमा एक व्यक्ति प्रहरी नियन्त्रणमा परेका छन् ।
राजपुर गाउँपालिका-२ मटेरियाका अन्दाजी ३९ वर्षिय त्रिलोक सिंह कार्कीले आफ्नै छिमेकी बलुवा डाडाका अन्दाजी ४८ वर्षिय रुपलाल चौधरी (गोमे) माथि पेट्रोल खन्याएर आगो लगाएको आरोप लागेको हो ।
आज अपराह्न मादक पदार्थ सेवन गरेका कार्की र चौधरीबीच आपसी विवाद भएपछि झगडा भएको थियो । सोही क्रममा कार्कीले आफूसँगै लिएर गएको पेट्रोल चौधरीको शरीरमा खन्याएर आगो लगाइदिएका थिए ।
आगो लागेर चौधरी गम्भीर घाइते भएका छन् । घटनापछि फरार भएका कार्कीलाई वडा प्रहरी कार्यालय लमहीको टोलीले लमहीबाट नियन्त्रणमा लिएको हो ।
गम्भीर घाइते चौधरीलाई लमही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि जिल्ला बाहिर लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्